पोखरा २२, भाद्र। जेन-जी युवाहरूले सरकारविरुद्ध गरेको प्रदर्शन र त्यसलाई दबाउन सत्ताले गरेको बर्बर दमनले केपी शर्मा ओली नेतृत्वको सरकारको वैधता समाप्त भएको स्पष्ट संकेत गरेको छ। नयाँ पुस्ताको भावनालाई निरन्तर अवमूल्यन गर्दै शक्तिमा बसिरहेका प्रधानमन्त्री ओली र उनका सत्तासाझेदारहरूको नियत सिंगो समाजसामु उदांगिएको छ। अब ओलीको राजीनामा केही मिनेट पनि ढिलो नगरी आउनुपर्छ, किनकि उनलाई सत्तामा एकछिन पनि बस्ने छुट छैन। यस घटनाले ओलीको अहंकारको विस्तारित रूप मात्र नभई २०६३ पछिको परिवर्तनका मुख्य नेतृत्वकर्ता शेरबहादुर देउवा र पुष्पकमल दाहालको राजनीतिक उपादेयता पनि समाप्त भएको देखाएको छ। उनीहरूले दशकौं लामो शासकीय अकर्मण्यता र नालायकी देखाउँदै देशलाई अन्योलमा धकेलेका छन्।
युवाहरूको शान्तिपूर्ण विद्रोहमाथि राज्यले थोपरेको बर्बर रक्तपातका बारेमा अनलाइनखबरले निरन्तर रिपोर्टिङ गरेको थियो। सामाजिक सञ्जाल, अनलाइन गेम र डिजिटल प्लेटफर्ममा सक्रिय रहने जेन-जी पुस्ताले सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै सडकमा उत्रिएको थियो। उनीहरूको माग असामान्य थिएन; यो पुस्ताले लोकतान्त्रिक गणतन्त्रका सरकारहरूले सुशासन दिन नसकेको र भ्रष्टाचारलाई संरक्षण गरेको नागरिक आक्रोशलाई नयाँ भाषामा व्यक्त मात्र गरेको थियो। सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णयले त्यो आक्रोशलाई झनै तीव्र बनाइदिएको थियो। तर यस्तो माग राख्दै सडकमा आएका युवाहरूमाथि राज्यले जुन आततायी व्यवहार देखायो, यसले सत्ता–सञ्चालक ओली र उनका साझेदारहरूको हातमा निर्दोष युवाहरूको रगत लागेको छ। यो कृत्य इतिहासमा क्षमा दिन लायक छैन।
पछिल्लो २०७९ को चुनावबाट प्राप्त जनादेशमाथि पनि प्रश्न उठ्न थालेको छ। संसद्मै रहेका सदस्यहरूले राजीनामा दिन थालेका छन्, मन्त्रीहरूले पनि पद छाडेका छन्। यसले देशमा एक किसिमको दिशाविहीनताको अवस्था सिर्जना गरेको छ। यस्तो अन्योलको अवस्थाबाट शक्तिशाली नेतृत्व जन्मनुपर्ने आवश्यकता महसुस भएको छ। अब सामूहिक विवेकमा भरोसा गर्ने, नागरिकलाई सधैँ प्रथम मान्ने, र देशको कुल जनसंख्याको ४२ प्रतिशतभन्दा बढी युवा संख्यालाई नेतृत्वको केन्द्रभागमा ल्याउने प्रयास हुनुपर्छ।
अबको बाटो शक्तिशाली नागरिक सरकार गठन हुनुपर्छ भन्ने अपेक्षा राखिएको छ। नागरिकहरूले स्वतस्फूर्त रूपमा थालेको यो अभियानले छिट्टै निकास पाउनुपर्छ। त्यसका लागि राष्ट्रका प्रबुद्ध नागरिक, जसले आ-आफ्नो क्षेत्रमा लामो योगदान र साख कमाएका छन्, उनीहरू अन्तरिम सरकारको नेतृत्व गर्न आउनुपर्छ। त्यही सरकारले चुनावमार्फत ताजा जनादेशका लागि ढोका खोल्न सकोस्।
सर्वप्रथम प्रधानमन्त्री ओलीले बिनासर्त राजीनामा दिनुपर्छ। उनको राजीनामाले देउवा वा प्रचण्डको लागि होइन, बरु जेन-जीका प्रतिनिधिहरू पनि सामेल हुने नयाँ अन्तरिमकालीन नेतृत्वका लागि ढोका खोल्नेछ। यो युवा आक्रोशलाई नेतृत्व गर्न काँग्रेस, एमाले लगायतका दलभित्र रहेका युवा पुस्ताले हिम्मत गर्नुपर्छ। यदि उनीहरू यो परिवर्तनको अवसरमा खुट्टा कमाउँछन् भने काठमाडौंका मेयर बालेन शाह वा अरू नयाँ नेतृत्व विकल्प हुन सक्छन्। सडक र सामाजिक सञ्जालले बालेनलाई आन्दोलनको नेतृत्व गर्न अपिल गरिरहेका छन्, यद्यपि उनी अहिलेसम्म चुप छन्। उनीसँग संगठनको बल नभए पनि उनी नयाँ भनेर देखिएका धेरै विवादित अनुहारभन्दा निष्कलंक छन्। नेतृत्व दुई कुराबाट जन्मिन्छ – सामथ्र्य र पहलकदमी। जेन-जी आन्दोलनका अगुवाहरूले यी दुईमध्ये एक गुमाउँदा नेपाली समाजले सामुन्नेमा आएको महत्वपूर्ण अवसर गुमाउन सक्छ। अब एक मिनेटको ढिलाइको अर्थ असीमित जनधनको क्षति मात्रै हो।

