पोखरा २२, भाद्र। जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज (२४ भदौ) बिहान साढे ८ बजेदेखि लागू हुने गरी चक्रपथ क्षेत्रभित्र अर्को आदेश नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालका अनुसार हिजो भएको जेएनजी युवाको प्रदर्शन र १९ जनाको ज्यान जाने गरी भएको प्रहरीको गोलीकाण्डपछि लगाइएको अघिल्लो कर्फ्युको अवधि बिहान ५ बजे समाप्त भएलगत्तै पुन: कर्फ्यु लगाइएको हो ।
यो कर्फ्यु आदेश काठमाडौं महानगरपालिकाको बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोंगबु, बालाजु, स्वयम्भु, कलंकी, बल्खु हुँदै बागमती नदी पुलसम्मको चक्रपथभित्रको सम्पूर्ण भूभागमा लागू हुनेछ । कर्फ्यु अवधिभर अत्यावश्यक सेवाका सवारी साधनबाहेक अन्य सबै प्रकारका सवारीसाधन चलाउन, भेला हुन, सभा जुलुस गर्न वा कुनै पनि प्रकारको प्रदर्शन गर्न पूर्ण रूपमा रोक लगाइएको छ । हिजो सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध युवाहरूले प्रदर्शन गरेका थिए, जसमा प्रहरीको गोली लागेर १९ जनाको दुःखद निधन भएको थियो । बढ्दो तनाव र शान्ति सुरक्षा कायम राख्नका लागि प्रशासनले यो कडा कदम चालेको बुझिएको छ । यस निर्णयले सर्वसाधारणको दैनिकीमा ठूलो असर पार्ने निश्चित छ ।































