पोखरा, १५, श्रावण, नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने २२औँ संस्करणको एनएसजेएफ बजाज पल्सर स्पोर्टस अवार्ड–२०८१ यसपटक पहिलो पटक पोखरामा आयोजना हुने भएको छ । पोखरा महानगरपालिकाको मुख्य प्रवद्र्धनमा आगामी भदौ २९ गते नेपालको पर्यटकीय राजधानी पोखरामा यो प्रतिष्ठित अवार्ड कार्यक्रम हुन लागेको हो । यसअघिका २१ वटै संस्करण काठमाडौंमा मात्र केन्द्रित रहँदै आएका थिए ।

इभेन्टहरूको सहरको रूपमा परिचय बनाएको पोखरामा महानगरको विशेष सहयोगमा मञ्चले यो कार्यक्रम काठमाडौं बाहिर गर्न लागेको नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष निराजन अधिकारीले जानकारी दिए । उनले अवार्डको आकार र दायरालाई फराकिलो बनाउँदै अगाडि बढ्ने क्रममा पोखरालाई चयन गरिएको र यसमा पोखरा महानगरको हार्दिकताले थप सान्दर्भिकता प्रदान गरेको बताए । अध्यक्ष अधिकारीले महानगरपालिकाले वर्ष २०२५ लाई पोखरा भ्रमण वर्षको रूपमा मनाइरहेको सन्दर्भमा यस अवार्डले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

पोखराका मेयर धनराज आचार्यले खेलकुद क्षेत्र पर्यटनको महत्वपूर्ण विधा भएको र खेलकुदका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्न सकिने बताए । उनले स्पोर्टस अवार्डको प्रवद्र्धनका लागि महानगरपालिकाले आफ्नो वार्षिक विकास कार्यक्रममा समेत यसलाई समावेश गरेको जानकारी दिए । मेयर आचार्यले स्पोर्टस अवार्डको आयोजना पोखराका लागि महत्वपूर्ण अवसर भएको र यसले पोखराको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म प्रचारप्रसारमा उल्लेखनीय टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले पर्यटकीय राजधानी पोखरालाई खेलकुदको हबको सहरका रूपमा विकास गर्न मौजुदा पूर्वाधारहरूको सबलीकरण र नयाँ पूर्वाधार निर्माणमा महानगरपालिकाले समन्वय तथा सहकार्य गरिरहेको पनि जानकारी गराए । पोखरा सबै मौसममा खेल्न सकिने र सबै खेलको पूर्वाधार भएको सहर भएको मेयर आचार्यको भनाइ थियो ।

नेपाल खेलकुद पत्रकार मञ्चका महासचिव अन्जन खड्काका अनुसार भदौ २९ गते पोखरा इभेन्ट सेन्टरमा हुने अवार्ड कार्यक्रममा विगतमा जस्तै १० विधामा खेलाडी र खेलकर्मीलाई पुरस्कृत गरिनेछ । यसमा वर्षको उत्कृष्ट पुरुष, महिला, युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलेटिक्स सम्मान, टिम अफ दि इयर, स्पेसल अवार्ड, लाइफ टाइम अवार्ड र एसियन स्पोर्टस जर्नालिजम अवार्ड समावेश छन् । उत्कृष्ट खेलाडी (पुरुष, महिला, युवा), उत्कृष्ट प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले बजाज पल्सर मोटर साइकल प्राप्त गर्नेछन् भने अन्य विधाका विजेतालाई नगद १ लाख रुपैयाँले पुरस्कृत गरिनेछ । महासचिव खड्काले पिपल्स च्वाइस अवार्डका लागि ५ उत्कृष्ट खेलाडीको मनोनयन केही दिनमा सार्वजनिक गरिने र यसको विजेता खेलप्रेमीको मतका आधारमा चयन हुने बताए । उत्कृष्ट खेलाडी (पुरुष, महिला, युवा) र प्रशिक्षक विधामा पनि ५/५ जनाको मनोनयन सार्वजनिक गरिनेछ । लाइफ टाइम अचिभमेन्ट, स्पेसल, टिम अफ दि इयर र एशियन जर्नालिस्ट विधामा भने सोझै विजेताको छनोट गरिने उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0