पोखरा, १९ श्रावण । नेपाली पब्जी टिम होरा इस्पोर्ट्सले साउदी अरेबियामा सम्पन्न इस्पोर्ट्स विश्वकप अन्तर्गत पब्जी मोबाइल विश्वकपमा नवौं स्थान हासिल गरेको छ। फाइनलको अन्तिम दिनको अन्तिम खेलमा शानदार प्रदर्शन गर्दै ‘चिकन डिनर’ जितेको होराले कुल १८ खेलमा १०० अंक जोडेको थियो। यो उत्कृष्ट प्रदर्शनले उनीहरूलाई फाइनलमा नवौं स्थान दिलाउन सफल भयो।
प्रतियोगितामा होराले ग्रुप स्टेजमा १३औं स्थान प्राप्त गरे पनि सर्भाइभल स्टेज जितेर फाइनलमा प्रवेश गरेको थियो। यस क्रममा उनीहरूले विभिन्न चरणमा गरी कुल १ लाख २७ हजार ५०० अमेरिकी डलर (करिब १ करोड ७८ लाख ९७ हजार नेपाली रुपैयाँ) को पुरस्कार राशि जितेका छन्। यसमा ग्रुप स्टेजको २७ हजार ५०० डलर, सर्भाइभल स्टेजको २५ हजार डलर, शो म्याचको १५ हजार डलर र फाइनलको नवौं स्थानको ६० हजार डलर समावेश छ।
होराले सर्भाइभल स्टेजमा १२ खेलमा २ चिकन डिनरसहित कुल १०८ अंक जोडेको थियो, जसले उनीहरूलाई फाइनलमा पुर्यायो। पब्जी मोबाइल विश्वकपको उपाधि भने म्यानमारको वाइजी इस्पोर्ट्सले जित्न सफल भयो। होरा इस्पोर्ट्सको यो प्रदर्शनले नेपाली इस्पोर्ट्स समुदायमा ठूलो उत्साह र आशा जगाएको छ।































