पोखरा १०, श्रावण – गुल्मी जिल्लाको प्रसिद्ध धार्मिक तथा ऐतिहासिक स्थल रूरूक्षेत्रको रिडीमा आकर्षक र सांस्कृतिक महत्व बोकेको ‘फल्चा’ निर्माण सम्पन्न भएको छ। रूरूक्षेत्र गाउँपालिका वडा नम्बर–१ स्थित कालीगण्डकी नदीको किनारमा बनाइएको यो फल्चा आन्तरिक तथा बाह्य पर्यटकका साथै रिडी पुग्ने तीर्थयात्रीहरूलाई लक्षित गरी निर्माण गरिएको हो।

यो फल्चा निर्माणसँगै त्यस क्षेत्रमा एउटा सानो पार्कसमेत बनाइएको छ। रूरूक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीका अनुसार यसले रिडी क्षेत्रको पर्यटकीय वातावरणलाई अझै रमणीय र स्वागतयोग्य बनाउनेछ। विशेषगरी यो फल्चा रूरूक्षेत्र गाउँपालिका र भरतपुर महानगरपालिकाबीचको भगिनी सम्बन्धको परिचायकका रूपमा संयुक्त रूपमा निर्माण गरिएको हो। अध्यक्ष ज्ञवालीले दुवै पालिकाले ५०/५० प्रतिशत लागत साझेदारीमा यसको निर्माण कार्य सम्पन्न गरेको जानकारी दिए।

कूल ३२ लाख २६ हजार रुपैयाँको लागतमा नीलकण्ठ कन्ट्रक्सनले निर्माण गरेको यो फल्चा काठमाडौंको संस्कृति, कला र नेवारी वास्तुकलाको झल्को दिने गरी डिजाइन गरिएको छ। यसले पर्यटकहरूलाई काठमाडौंको पुरानो शहरको अनुभव गराउने अपेक्षा गरिएको छ। रिडी आफैंमा एक प्रसिद्ध धार्मिक क्षेत्र भएकाले यस्ता मौलिक कलात्मक स्थलहरूको निर्माणले यसको महत्व झनै बढाउने स्थानीय बासिन्दाहरूको अपेक्षा छ। यसले रिडी बजार र आसपासका क्षेत्रमा व्यावसायिक गतिविधिमा पनि सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।

फल्चा निर्माणपछि पर्यटकहरूलाई सहज रूपमा विश्राम गर्न मिल्ने र फोटो खिच्नका लागि आकर्षक पृष्ठभूमि उपलब्ध भएको छ। कालीगण्डकी नदीको किनारमा अवस्थित रिडी क्षेत्र विभिन्न मेला, पर्व र धार्मिक गतिविधिका लागि प्रसिद्ध छ। यस्ता संरचना निर्माणले रिडीलाई थप व्यवस्थित र पर्यटकमैत्री बनाउँदै लगेको छ। उल्लेखनीय पक्ष के छ भने रिडीमा निर्माण भएको यस फल्चामा प्रयोग गरिएका काष्ठकलाहरू गुल्मी जिल्लामै उत्पादित काठ र स्थानीय श्रमद्वारा निर्मित छन्। विशेषगरी काष्ठकलामा प्रयोग गरिएका कलात्मक सामग्रीहरू गुल्मी जिल्ला कारागारमा रहेका कैदीबन्दीहरूले आफ्नै सीप र दक्षताबाट निर्माण गरेका हुन्। कारागारभित्र रहेका यस्ता कालिगड कैदीबन्दीले कुँदेका कलात्मक सामग्रीहरू देशभर र देशबाहिर समेत निर्यात हुने गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0