पोखरा १०, श्रावण – पोखरा-मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्ड (पोखरा–जामुने) को भौतिक प्रगति ५५.१० प्रतिशत र वित्तीय प्रगति ४२.५० प्रतिशत पुगेको छ। कुल ३८.८८ किलोमिटर लामो यस खण्डमा हालसम्म ३७.७० किलोमिटरमा एकतर्फी पहिलो तहको कालोपत्रे भइसकेको आयोजना कार्यालयले जानकारी दिएको छ।
उक्त खण्डका प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवरका अनुसार २६.३८ किलोमिटरमा दुईतर्फी (चार लेन) र १०.३२ किलोमिटर सडकमा एकतर्फी (दुई लेन) कालोपत्रे सम्पन्न भएको छ। सन् २०२१ सेप्टेम्बरदेखि निर्माण सुरु गरिएको यस खण्डको ठेक्का म्याद आगामी डिसेम्बरसम्म रहेको छ। चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले काम गरिरहेको यो खण्डमा निर्माण कम्पनीले समयमै काम नसकेपछि यसअघि दुईपटक म्याद थप भइसकेको इन्जिनियर कुँवरले बताए। तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्मको आधा सडक छ लेन र बाँकी आधाजति चार लेनको बन्नेछ।
पश्चिम खण्डमा पर्ने १३ वटा पुलमध्ये ११ वटाको निर्माण सम्पन्न भइसकेको छ भने दुईवटा निर्माणाधीन अवस्थामा छन्। १०५ वटा कल्भर्टमध्ये १०३ वटा निर्माण भइसकेका छन्। तनहुँका म्याग्देखोला, कुम्लेखोला, ठाडेखोला, सम्धीखोला, मूलखोला, फेदीखोला–१, फेदीखोला–२, रुदीखोला, हलेदीखोला, कालीखोला र कास्कीको कोत्रेखोलामा पुल निर्माण सकिएको हो। सडक ठेक्काअन्तर्गत कास्कीको विजयपुर पुल र पुल ठेक्काअन्तर्गत सेती पुल निर्माणको चरणमा छन्। विजयपुर खोला पुलको भौतिक प्रगति ६० प्रतिशत पुगेको छ भने सेती पुलको भौतिक प्रगति ४८ प्रतिशत मात्र रहेको छ। इन्जिनियर कुँवरका अनुसार विजयपुर पुल बन्न अझै पाँचदेखि छ महिना लाग्नेछ।
सन् २०२२ जुलाईमा निर्माणको जिम्मा लिएको रसुवा कन्स्ट्रक्सनले बनाइरहेको सेती पुलको तीनवर्षे ठेक्का अवधि आगामी अगस्टमा सकिँदैछ, तर यसको भौतिक प्रगति भने न्यून देखिएको छ। पुलको डिजाइन स्वीकृत हुनदेखि मापदण्डभित्रका संरचना हटाउनेसम्मका काममा भएको ढिलाइले समयमा पुल बन्न नसकेको इन्जिनियर कुँवरले बताए। केवल-स्टेड प्रविधिको यस पुलमा सब-स्ट्रक्चरको काम सकिएको र अहिले डाउनस्ट्रिम पुलमा सुपर-स्ट्रक्चरको काम भइरहेको छ। आकर्षक डिजाइनमा बन्ने यो सिग्नेचर पुलको जग निर्माणमा बढी समय लागे पनि टावरलगायत माथिल्लो संरचनाको काम छिटो हुने निर्माण कम्पनीले जनाएको छ। हालको चाइना पुलको तल र माथि गरी छ लेनको यस सडकमा दुईवटा सिग्नेचर पुल बन्नेछन्। भ्याटबाहेक ९४ करोड रुपैयाँको ठेक्कामा पुल निर्माण भइरहेको छ। एसियाली विकास बैंकको ऋण सहयोगमा विस्तार तथा स्तरोन्नति भइरहेको ५० वर्षअघि बनेको पृथ्वी राजमार्गअन्तर्गतको यो सडकमा कुनै अवरोध नआए आगामी हिउँदसम्ममा काम सकिने आयोजना कार्यालयले जनाएको छ। गण्डकी प्रदेशको लाइफलाइन मानिने यस सडकको पूर्वी खण्ड (जामुने–मुग्लिन) मा भने भौतिक प्रगति ८६ प्रतिशत पुगेको छ।




























