पोखरा २२, भाद्र। जेन-जीको प्रदर्शनमा भएको सरकारी दमनको विरोधमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का अध्यक्ष सुजन कडरियाले पदबाट राजीनामा दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गर्दै सरकारले जनताको भावनाविपरीत आन्दोलन दबाउन खोजेको आरोप लगाएका छन्।
कडरियाले हिजोको दिनलाई ‘विद्यार्थी राजनीतिको शिर ढलेको दिन’ भएको बताएका छन्। उनले लेखेका छन्, “विद्यार्थीहरूको हक, अधिकार र भविष्यको संरक्षक, पथ प्रदर्शक विद्यार्थी संगठनहरूले आज स्कूले पोशाकमा रहेको विद्यार्थीको प्राण रक्षा समेत गर्न सकेनन्।” उनले आफ्नो पुस्ताले गरेको विद्यार्थी राजनीति असफल रहेको महसुस गर्दै पद छाडेको बताएका छन्। उनले सरकारको दमनकारी कदमको नतिजा ‘भयावह’ हुने चेतावनी पनि दिएका छन्। कडरियाको यो कदमले एमाले नेतृत्वको सरकार र त्यसको भ्रातृ संगठनबीचको गम्भीर मतभेदलाई उजागर गरेको छ।





























