पोखरा ४, श्रावण – दुई दशकसम्म कोमामा रहेका साउदी अरबका राजकुमार अल वालिद बिन खालिद बिन तलाल अल साउदको निधन भएको छ। कार दुर्घटनामा परी गम्भीर घाइते भएका उनी २० वर्षसम्म कोमामा रहेका कारण ‘स्लिपिङ प्रिन्स’ नामले परिचित थिए।

गल्फ न्युजका अनुसार सन् २००५ मा १५ वर्षको छँदा बेलायतको लन्डनमा सैनिक तालिम लिइरहेका बेला उनी सवारी दुर्घटनामा परेका थिए। उक्त दुर्घटनामा उनको मस्तिष्कमा गम्भीर चोट लागेर आन्तरिक रक्तस्राव भएको थियो। उपचारका लागि अमेरिकी र स्पेनिस चिकित्सकहरूको टोली समेत संलग्न भए पनि उनी कहिल्यै पूर्णरूपमा होसमा फर्कन सकेनन्। दुई दशकसम्म उनको अवस्थाले व्यापक सहानुभूति र ध्यान खिचेको थियो।

राजकुमार वालिद अचेत अवस्थामा रहे पनि कहिलेकाहीँ हुने अनियन्त्रित शरीरका हल्का गतिविधिले केही आशा भने दिलाउँथ्यो। त्यसैले उनका पिता राजकुमार खालिदले जीवन रक्षाका उपकरणहरू हटाउन चिकित्सकहरुले दिने सुझावहरू सार्वजनिक रूपमा अस्वीकार गरेका थिए। उनले सधैं ईश्वरीय चमत्कारप्रति विश्वास राख्दै छोरा निको हुने आशा राखेका थिए। परिवारका सदस्यहरुले अचेत राजकुमारलाई कुरानको पाठ सुनाउँथे, र त्यतिबेला उनका शरीरका अंग केही चलमलाएको जस्तो देखिने भिडियोहरू सार्वजनिक भएका थिए। ती भिडियोहरूले जनतामा गहिरो सहानुभूति र सम्मान जगाएको थियो।

तर साउदी अरबको विशेष स्वास्थ्य केन्द्रले १९ जुलाई २०२५ मा राजकुमार वालिदको निधनको समाचार सार्वजनिक गरेपछि उनीप्रति व्यापक रूपमा श्रद्धाञ्जली अर्पण गरिएको छ। ‘सुत्ने राजकुमार’ ह्यासट्याग (#SleepingPrince) सामाजिक सञ्जालमा ट्रेन्डिङमा आएको छ। हजारौं मानिसले धैर्यता, आस्था र पितृमायाको प्रतीकका रूपमा उनलाई सम्झिएका छन्। वर्षौंसम्म छोराको शय्या छेउ बस्ने पिताप्रति पनि सम्मान व्यक्त भइरहेको गल्फ न्युजले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0