पोखरा, २८ श्रावण । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको युद्धविरामका लागि डोनबास क्षेत्र कुनै पनि हालतमा नत्याग्ने अडान लिएका छन् । उनले डोनबास रुसलाई दिएमा भविष्यमा थप आक्रमणका लागि त्यो क्षेत्र प्रयोग हुन सक्ने भन्दै यस्तो सम्भावनालाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने बताएका छन् । उनको यो भनाइ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र जेलेन्स्कीबीच शुक्रबार अलास्कामा हुन लागेको त्रिपक्षीय वार्ताको पूर्वसन्ध्यामा आएको हो ।

यता अमेरिकी राष्ट्रपति ट्रम्पले भने शान्ति स्थापनाका लागि कुनै भूभाग दिने कुरा हुन सक्ने बताएका छन् । यसैबीच, वार्ताको तयारी भइरहेका बेला पनि रुसी सेनाले आफ्नो अग्रसरता जारी राखेको छ । डोरोप्रिलामा छोटो समयमै १० किलोमिटरको क्षेत्र कब्जा गर्न सफल भएको छ ।

जेलेन्स्कीले धेरै स्थानमा रुसी सेना अघि बढिरहेको र युक्रेनी सेनाले त्यसलाई रोक्न सक्षम रहेको दाबी गरेका छन् । यद्यपि, शुक्रबार ट्रम्पसँगको भेटमा पुटिनले के माग गर्न सक्छन् भन्नेबारे अहिलेसम्म कुनै आधिकारिक जानकारी आएको छैन । अहिले मस्कोले लोहन्सकलाई पूर्णरूपमा नियन्त्रणमा लिइसकेको छ भने डोन्सटकको ७० प्रतिशत क्षेत्र आफ्नो नियन्त्रणमा राखेको छ ।

युक्रेनको बुझाइमा डोनबास त्याग गर्नु रुसलाई थप आक्रमणका लागि बाटो खुला गर्नु हो । मंगलबार बोल्दै जेलेन्स्कीले झाप्पोझारिया, पोक्रोभोस्क र नोभोपाभ्लोभमा रुसी सेना अगाडि बढिरहेको बताएका छन् । डोनबास क्षेत्रको भविष्यलाई लिएर वार्ताको परिणाम के हुनेछ भन्नेमा सबैको चासो बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0