
पोखरा, १० असार। कतारस्थित अमेरिकी एयरबेसमा इरानले गरेको मिसाइल आक्रमणपछि इरान र इजरायलबीचको तनावमा नयाँ मोड आएको छ। केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले इरान र इजरायलले पूर्ण युद्धविराममा सहमति जनाएको समाचार छापेका छन् भने अमेरिकाले समेत यसलाई पुष्टि गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायलबीच युद्धविराम भएको दाबी गरेका छन् र मध्यपूर्वमा फैलिएको युद्ध तत्कालका लागि अन्त्य हुने संकेत आएको बताएका छन्। वार्तामा इरानले आफ्नो भुमिमा आक्रमण रोकिने सर्तमा युद्धविराम गर्न इजरायल सहमत भएको ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीले जानकारी दिएका छन्।
ट्रम्पले कतारका अमीरसँग पनि यस सम्बन्धमा कुराकानी गरेका थिए र कतारले युद्धविरामको मध्यस्थता गरेकोमा धन्यवाद दिएका छन्। कतारको मध्यस्थतामा भएको वार्तापछि इरानले अमेरिकी प्रस्तावित युद्धविराम स्वीकार गरेको बताइएको छ। तर, इजरायल र इरान सरकारले भने अहिलेसम्म कुनै आधिकारिक घोषणा गरेका छैनन्।
यसअघि इरानले कतारको अल-उदीद एयरबेसलाई निशाना बनाएर मिसाइल आक्रमण गरेको थियो, जहाँ हजारौं अमेरिकी सैनिक तैनाथ छन्। इरानी समाचार एजेन्सी फार्सले भने अमेरिकी राष्ट्रपति ट्रम्पको युद्धविराम घोषणा झूठो भएको दाबी गरेको छ। इरानले कुनै युद्धविराम प्रस्ताव पाएको नरहेको र चाँडै नै यो घोषणा गलत सावित गर्ने चेतावनी पनि दिएको छ। यसैबीच अमेरिकाले जनताको ध्यान युद्धविराम हल्लाबाट विचलित गराउन खोजेको बताइएको छ।
यो घटनाक्रमले मध्यपूर्वको तनावलाई अझै अस्पष्ट बनाएको छ र आगामी दिनमा कूटनीतिक गतिबिधि तीव्र हुने देखिन्छ।































