पोखरा २४, भदौ। कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा पहिरो खसेर थुनिएको किम्रोङ खोलाको बहाव खुलेको छ। गएराति करिब ८ बजे पहिरो खसेपछि खोला थुनिएको थियो। तर रातभर पानीको बहाव बढ्दै गएपछि खोलाको पानी थुनिएको स्थानबाट आफैं बग्न थालेको र अहिले खोला साविककै अवस्थामा फर्किएको स्थानीयले बताएका छन्।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गल बरालका अनुसार बिहान सबेरै स्थानीयसँग सम्पर्क गर्दा खोलाको बहाव खुलिसकेको जानकारी प्राप्त भएको हो। उनका अनुसार हाललाई खोलामा पानीको बहाव सामान्य अवस्थामा आएकाले पहिरोका कारण उत्पन्न तत्कालीन जोखिम टरेको छ।
बरालले पहिरो खसेर खोला थुनिएको स्थानतर्फ प्रहरी टोली बिहान ४ बजे नै पठाइएको जानकारी दिए। घटनापछि स्थानीय प्रशासनले अवस्थाबारे जानकारी लिन र सम्भावित जोखिमको निगरानी गर्न थालेको थियो। राति अचानक खोला थुनिएपछि किम्रोङ खोला तथा मोदीखोला तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरिएको थियो।
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीका अनुसार मध्यराति करिब १२ बजेदेखि पहिरोले थुनेको स्थानको एक छेउबाट खोलाको पानी विस्तारै बग्न थालेको थियो। त्यसपछि पानीको बहाव क्रमशः खुलेर अहिले सामान्य अवस्थामा पुगेको उनले बताए।
अध्यक्ष केसीका अनुसार रातिको घटनापछि स्थानीयमा केही समय त्रासको अवस्था देखिए पनि खोला आफ्नै बहावमा फर्किएपछि तत्कालका लागि जोखिम कम भएको छ। पहिरोका कारण खोला थुनिँदा पानी जम्मा भएर एक्कासि ठूलो बहाव आउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै स्थानीयलाई सावधानी अपनाउन भनिएको थियो।
स्थानीय प्रशासन र गाउँपालिकाले खोलाको अवस्था सामान्य भएको जानकारी दिए पनि पहिरो खसेको क्षेत्र भएकाले सम्भावित थप पहिरो तथा वर्षाका कारण आउन सक्ने जोखिमप्रति निगरानी आवश्यक रहेको जनाइएको छ। राति भएको घटनापछि प्रहरी टोली स्थलगत अवस्थाबारे बुझ्न परिचालन गरिएको थियो। किम्रोङ खोलाको बहाव अहिले सामान्य अवस्थामा फर्किएसँगै तटीय क्षेत्रमा उत्पन्न तत्कालीन जोखिम भने टरेको प्रशासनको भनाइ छ।
































