पोखरा ३१, भदौ। नेपाल उद्योग वाणिज्य महासंघको कर तथा राजस्व समिति सदस्यमा पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा महासंघका कार्यकारिणी समिति सदस्य गोकर्ण कार्की मनोनीत भएका छन्। महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले कार्कीलाई मनोनयनसम्बन्धी पत्र हस्तान्तरण गर्दै समितिको सदस्यमा मनोनीत गरेका हुन्।

महासंघका कार्यकारिणी समिति सदस्य अरनिको राजभण्डारीको सभापतित्वमा कर तथा राजस्व समिति गठन गरिएको हो। मुलुकको कर प्रणालीलाई व्यवसायमैत्री बनाउन, राजस्व नीतिका विषयमा निजी क्षेत्रका तर्फबाट स्पष्ट धारणा प्रस्तुत गर्न तथा उद्यमी व्यवसायीले भोग्दै आएका करसम्बन्धी समस्यालाई रचनात्मक ढङ्गले सम्बोधन गर्ने उद्देश्यले समिति गठन गरिएको महासंघले जनाएको छ।

महासंघका अनुसार समितिमा कार्कीको सहभागिताले राष्ट्रिय आर्थिक तथा राजस्व नीतिको तर्जुमा, कार्यान्वयन र सुधारसम्बन्धी छलफलमा निजी क्षेत्रको दृष्टिकोण थप प्रभावकारी रूपमा प्रस्तुत गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। पोखरा उद्योग वाणिज्य संघको नेतृत्वमा रहँदा तथा महासंघको कार्यकारिणी समितिमा काम गर्दा हासिल गरेको कार्कीको व्यावसायिक अनुभव समितिको जिम्मेवारीमा उपयोगी हुने महासंघको विश्वास छ।

कर प्रणाली, राजस्व नीति र व्यवसायीका व्यावहारिक समस्यासँग सम्बन्धित विषयमा निजी क्षेत्रको आवाजलाई संस्थागत रूपमा अघि बढाउन कर तथा राजस्व समितिले महत्वपूर्ण भूमिका निर्वाह गर्ने महासंघले जनाएको छ। कार्कीको मनोनयनसँगै समितिले निजी क्षेत्र र सरकारबीच कर तथा राजस्वसम्बन्धी नीतिगत संवादलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0