पोखरा ३१, भदौ। प्रोटिन सचेतना, पोषण, शारीरिक तन्दुरुस्ती तथा स्वस्थ जीवनशैली प्रवद्र्धन गर्ने उद्देश्यले पोखरामा आयोजना हुने पाँचौँ संस्करणको ‘प्रोटिन अधिकारका लागि हाफ म्याराथन २०२६’ मा ४ हजार १ सय ६ जना धावकले विभिन्न आठ विधामा प्रतिस्पर्धा गर्ने भएका छन्। असोज ३ गते शनिबार आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको नेपाल दाना उद्योग संघका अध्यक्ष उमेशचन्द्र सापकोटाले जानकारी दिए।

यूएस सोयाबिन एक्सपोर्ट काउन्सिलको प्रमुख प्रायोजन तथा नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा आयोजना हुने प्रतियोगिता लेकसाइडस्थित बसुन्धरा पार्कबाट सुरु हुनेछ। दौड बसुन्धरा पार्कबाट सुरु भई हलनचोक, सेदी, पामे हुँदै लौरुकसम्म पुग्ने र पुनः सोही मार्ग हुँदै बसुन्धरा पार्कमै आएर समापन हुने आयोजकले जनाएको छ। प्रतियोगिताले खेलकुदलाई पोषण तथा स्वस्थ जीवनशैलीसम्बन्धी जनचेतनासँग जोड्ने लक्ष्य राखेको छ।

प्रतियोगिताअन्तर्गत पुरुषतर्फको २१ किलोमिटर हाफ म्याराथनमा ४०६ तथा महिलातर्फ २१ किलोमिटरमा ६४ धावक सहभागी हुनेछन्। खुला पुरुषतर्फ १० किलोमिटरमा ९८८ र खुला महिलातर्फ ५ किलोमिटरमा ३९७ जना सहभागी हुनेछन्। त्यस्तै, कक्षा १२ सम्मका युवा पुरुषतर्फ ५ किलोमिटरमा १ हजार ६५८ तथा महिलातर्फ ३ किलोमिटरमा ५५३ जना सहभागी हुनेछन्। ह्विलचेयर पुरुषतर्फ ३ किलोमिटरमा २४ र महिलातर्फ ३ किलोमिटरमा १६ जना सहभागी हुने अध्यक्ष सापकोटाले बताए।

प्रतियोगितामा नेपालसहित भारत, चीन, अमेरिका, डेनमार्क, केन्या, फ्रान्स, दक्षिण कोरिया, जर्मनी र इंग्ल्याण्ड गरी १० देशका धावकले सहभागिता जनाउने भएका छन्। अध्यक्ष सापकोटाका अनुसार दौडलाई केवल प्रतिस्पर्धात्मक खेलका रूपमा नभई प्रोटिनको आवश्यकता, सन्तुलित आहार र शारीरिक सक्रियताबारे आमसमुदायमा सचेतना फैलाउने अभियानका रूपमा समेत अघि बढाइएको हो। अण्डा, मासु, माछा, दूध, सोया, टोफु, पनीर, दाल तथा गेडागुडीजस्ता सहज रूपमा उपलब्ध हुने गुणस्तरीय प्रोटिनका स्रोतबारे जानकारी फैलाउने कार्यक्रमको उद्देश्य रहेको उनले बताए।

कार्यक्रम संयोजक समेश राजभण्डारीले नयाँ तथा उदीयमान धावकलाई प्रतिस्पर्धाको अवसर प्रदान गर्नुका साथै पोखरालाई खेलकुद तथा स्वास्थ्य पर्यटनको गन्तव्यका रूपमा प्रवद्र्धन गर्ने लक्ष्य रहेको बताए। आठ विधामा हुने प्रतियोगिताका प्रत्येक विधाका उत्कृष्ट पाँच धावकलाई नगद पुरस्कार प्रदान गरिनेछ। प्रतियोगिताको कुल पुरस्कार राशि १६ लाख रुपैयाँ रहेको छ। मुख्य आकर्षणका रूपमा रहेको २१ किलोमिटर हाफ म्याराथनको पुरुष र महिला दुवैतर्फका विजेताले जनही १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

‘प्रोटिन अधिकारका लागि दौड’ सन् २०१९ देखि सञ्चालन हुँदै आएको अभियान हो। आयोजकका अनुसार नेपालमा प्रतिव्यक्ति दैनिक प्रोटिन उपलब्धता औसत करिब ४६ ग्राम रहेको अनुमान छ, जुन विश्वव्यापी औसत करिब ७७ ग्रामभन्दा कम हो। प्रोटिनको आवश्यकता, गुणस्तर र उपलब्धताबारे पर्याप्त जानकारीको अभाव रहेको अवस्थामा दौडमार्फत समुदायस्तरसम्म पोषणसम्बन्धी सन्देश पुर्‍याउने प्रयास गरिएको संयोजक राजभण्डारीले बताए।

प्रतियोगितामा नेपाली युवा उद्यमी मञ्च पोखरा, नेपाल ह्याचरी उद्योग संघ, नेपाल लेयर्स कुखुरा पालक संघ, रेस्टुरेन्ट एन्ड बार एसोसिएसन, लायन्स क्लब तथा नेपाल पोल्ट्री महासंघलगायत विभिन्न संघसंस्थाको सहकार्य रहेको छ। सहभागीहरूको बीमा, करिब २०० स्वयंसेवक परिचालन, १० वटा हाइड्रेसन स्टेसन, सात वटा एम्बुलेन्स तथा आवश्यक सुरक्षा व्यवस्थासमेत मिलाइएको आयोजकले जनाएको छ।

यसैबीच, नेपाल दाना उद्योग संघले भाद्र १० गते भोटेकोशीमा गएको विनाशकारी बाढीबाट प्रभावितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा ३ करोड १७ लाख ८४ हजार ७ सय १ रुपैयाँ सहयोग गरिसकेको जनाएको छ। खेलकुद र पोषण सचेतनासँगै सामाजिक उत्तरदायित्वका गतिविधिलाई समेत जोड्दै प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0