पोखरा २३, भदौ। हालैको प्राकृतिक प्रकोपबाट प्रभावित भएका कलाकार तथा सर्वसाधारणको राहत, उद्धार र पुनर्स्थापनाका लागि राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, गण्डकी प्रदेश समितिले १ लाख ५१ हजार १ सय ५१ रुपैयाँ सहयोग रकम संकलन गरी केन्द्रीय समितिमा पठाएको छ।
सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठान गण्डकी प्रदेशकी अध्यक्ष माया गुरुङले प्राकृतिक विपत्तिबाट प्रभावित पीडितहरूलाई सहयोग पुर्याउने उद्देश्यले उक्त रकम संकलन गरी प्रतिष्ठानको केन्द्रीय कार्यसमितिको खातामा जम्मा गरिएको जानकारी दिइन्। गत भदौ १० गते रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा आएको प्राकृतिक प्रकोपबाट थुप्रै कलाकार तथा सर्वसाधारण प्रभावित भएका थिए।
प्रकोप प्रभावितहरूको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले प्रतिष्ठानको केन्द्रीय कार्यसमितिसँग ऐक्यबद्धता जनाउँदै गण्डकी प्रदेश समिति र मातहतका जिल्ला कार्यसमितिहरूले संयुक्त रूपमा सहयोग अभियान सञ्चालन गरेका थिए। अभियानबाट संकलित रकममा गण्डकी प्रदेश समिति, विभिन्न जिल्ला कार्यसमिति तथा अन्य सहयोगीहरूको योगदान रहेको अध्यक्ष गुरुङले बताइन्।
संकलित रकममध्ये गण्डकी प्रदेश समितिबाट ६० हजार ४ सय २६ रुपैयाँ, तनहुँबाट २५ हजार, नवलपुरबाट ११ हजार ६ सय १५, गोरखाबाट १० हजार १ सय १०, कास्कीबाट १० हजार र बागलुङबाट ८ हजार रुपैयाँ संकलन भएको छ। त्यसैगरी म्याग्दीबाट ७ हजार, लमजुङबाट ५ हजार ५ सय, स्याङ्जाबाट ५ हजार, पर्वतबाट ५ हजार तथा अन्य सहयोगीहरूबाट ३ हजार ५ सय रुपैयाँ प्राप्त भएको जनाइएको छ।
अध्यक्ष माया गुरुङ र कार्यवाहक सचिव टेक क्षेत्रीले कठिन परिस्थितिमा मानवीय तथा सामाजिक सेवाको अभियानमा साथ दिने सम्पूर्ण जिल्ला समिति, पदाधिकारी, शुभेच्छुक र सहयोगी दाताप्रति आभार व्यक्त गरेका छन्। प्रतिष्ठानले प्राकृतिक विपत्तिमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रतिष्ठानले लोककला र संस्कृतिको संरक्षणसँगै सामाजिक तथा मानवीय सेवामा निरन्तर सक्रिय रहने प्रतिबद्धता दोहोर्याएको छ।
































