पोखरा, ४ असार। आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा पाँचौँ आदिवासी जनजाति चलचित्र महोत्सव २०८२ यही ६ असारदेखि ८ असारसम्म काठमाडौँमा भव्य रूपमा सम्पन्न हुने भएको छ। मौलिक भाषा, संस्कृति र पहिचानको प्रवर्द्धन तथा संरक्षणका उद्देश्यले आयोजना हुन लागेको महोत्सवमा स्वदेशी तथा विदेशी गरी १९ वटा चलचित्रहरू प्रदर्शन गरिनेछन्।

महोत्सवकी निर्देशक प्रतिमाया पुन मगरका अनुसार आदिवासी जनजाति समुदायको भाषा र सांस्कृतिक मूल्य समेटिएका चलचित्रहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने लक्ष्यसहित महोत्सवको आयोजना गरिएको हो। उनले नेपाली आदिवासी चलचित्र क्षेत्रको सुरुवात २०४४ सालमा नेवारी भाषाको ‘सिलु’ बाट भएपनि अझैसम्म राज्यस्तरीय नीति र संरचनाको अभावमा विकास अपेक्षित गतिमा हुन नसकेको बताइन्।

महोत्सवमा लिम्बु, गुरुङ, तामाङ, थारु, भुजेल, राजवंशी, मगर र नेवारी भाषामा निर्माण भएका चलचित्रहरूको समावेश रहेको छ। साथै, ताइवान र नर्वेबाट पनि आदिवासी जनजीवन प्रतिनिधित्व गर्ने चलचित्रहरू छनोटमा परेका छन्। ताइवानबाट निर्देशक चाङ चाई वेईको ‘१०१० कुकापुंगाने’ र नर्वेबाट निर्देशक जोहनेस भाङका ‘फोर आवर साईट्स’, ‘रेड स्याडेड ग्रिन’ र ‘आह्की–ड्याड’ प्रदर्शनमा आउनेछन्।

कार्यवाहक अध्यक्ष भूइसल लामाले तीन दिनसम्म महोत्सवमा १९ वटै चलचित्रहरू प्रदर्शन गरिने जानकारी दिँदै उत्कृष्ट चलचित्र, निर्देशक, पटकथा, छायांकन, वृत्तचित्र, लघु चलचित्र तथा पब्लिक च्वाइस र जुरी प्रोत्साहन विधामा पुरस्कार प्रदान गरिने बताए। महोत्सव सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले समुद्घाटन गर्नेछन्।

यस महोत्सवले आदिवासी जनजातिको मौलिक कला, धर्म, भाषा र परम्परालाई चलचित्रमार्फत दस्तावेजीकरण गर्दै पर्यटन प्रवर्द्धन र राष्ट्रिय पहिचान स्थापनामा योगदान दिने अपेक्षा गरिएको छ। आयोजकहरूका अनुसार महोत्सवले विगत आधा दशकदेखि आदिवासी जनजातिको सांस्कृतिक धरोहरलाई नेपाली चलचित्र उद्योगमा स्थान दिलाउने प्रयास गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0