पोखरा २१, भदौ। त्रिशूली नदीमा आएको विनाशकारी बाढीले नुवाकोटको सोलेबजार र रसुवाको कैदलेटारका बस्ती पूर्ण रूपमा बगाएको छ। त्रिशूली नदीको वारिपारि रहेका यी दुवै बजारमा यसअघि बाक्लो बस्ती रहे पनि बाढीपछि घरबस्तीको नामोनिसानसमेत नरहेको स्थानीयले बताएका छन्। प्रारम्भिक विवरणअनुसार नुवाकोटतर्फको सोलेबजारमा करिब ६० देखि १०० घर रहेको अनुमान गरिएको छ भने रसुवातर्फको कैदलेटारमा पनि करिब त्यत्तिकै संख्यामा घर रहेको बताइएको छ। बाढीका कारण दुवै क्षेत्रमा ठूलो मानवीय क्षति भएको छ।

सोलेबजारका स्थानीय लक्ष्मण अधिकारीका अनुसार बाढीले घरसहित सम्पूर्ण जायजेथा बगाएको छ। उनका अनुसार बाढी आएको समयमा स्थानीयलाई सुरक्षित स्थानमा भाग्ने पर्याप्त समयसमेत मिलेन। खाना खाइरहेका र खाना पकाइरहेका मानिसहरू अचानक आएको बाढीमा परेका थिए। अधिकारी भने गाडीको सहायताले बस्तीबाट माथितर्फ जान सफल भए पनि उनको घर र सम्पत्ति सबै बाढीले बगाएको छ। उनका अनुसार १० गते आएको बाढीपछि सोलेबजार बस्तीविहीन बनेको छ।

रेडक्रसको तुम्चे उपशाखाका सभापति कृष्णप्रसाद रिजालले सोलेबजारमा एकै स्थानबाट करिब ६८ जना बाढीमा बगेको र हालसम्म एक जनाको मात्र शव फेला परेको बताएका छन्। तत्कालीन समयमा सो क्षेत्रमा करिब ८० जना रहेको र तीमध्ये १२ जना मात्र जीवित रहेको उनको भनाइ छ। रसुवातर्फको कैदलेटारमा पनि करिब ३९ जना बेपत्ता रहेको स्थानीयले बताएका छन्। बाढीबाट विस्थापित परिवारमध्ये केही आफन्तको घरमा बसेका छन् भने आफन्त नभएकाहरू होल्डिङ सेन्टर तथा विद्यालयका कक्षाकोठामा आश्रय लिएर बसिरहेका छन्।

यसैबीच, नजिकै रहेको कर्मेटार भने ठूलो मानवीय र भौतिक क्षतिबाट जोगिएको छ। कर्मेटारमा रहेका ६२ घर बाढीबाट सुरक्षित रहेको स्थानीय कृष्णप्रसाद रिजालले बताए। उनका अनुसार सोलेबजारमा रहेका बेला त्रिशूली–३ बीको इन्टेक क्षेत्रबाट ठूलो आवाज सुनेपछि उनी घरतर्फ लागेका थिए। त्यतिबेलासम्म बाढी सोलेबजारदेखि बेत्रावती बजारतर्फ फैलिसकेको थियो। कर्मेटार आसपासका खेत तथा जमिनमा क्षति पुगे पनि बस्तीभित्र बाढी पस्न सकेन। बीचमा रहेको ढुंगा र पहाडी भू–बनोटका कारण बाढीको बहाव कर्मेटारतर्फ नआएको हुनसक्ने स्थानीयको अनुमान छ। तर भविष्यमा त्रिशूलीको जलस्तर बढ्दा कर्मेटारमा समेत जोखिम कायमै रहेको स्थानीय सुदर्शन खतिवडाले बताए। उनले यसपटक आफूहरूले जीवनमै नदेखेको र नभोगेको स्तरको बाढी आएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0