पोखरा २३, भदौ। लुम्बिनी विकास बैंकका ग्राहक, कर्मचारी तथा उनीहरूका परिवारका सदस्यले युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल) मा स्वास्थ्य परीक्षण गर्दा विशेष छुट पाउने भएका छन्। आम नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज, सरल र किफायती पहुँच उपलब्ध गराउने उद्देश्यले युआरएल ग्रुप प्रा.लि. र लुम्बिनी विकास बैंक लिमिटेडबीच सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो।

सम्झौताअनुसार लुम्बिनी विकास बैंकका खातावाला ग्राहक तथा बैंकका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताले युआरएलका विभिन्न सेवामा विशेष सहुलियत प्राप्त गर्नेछन्। बैंकको मोबाइल बैंकिङ सेवा ‘एलविबिएल स्मार्ट’ प्रयोग गर्ने ग्राहकले समेत उक्त सुविधा लिन सक्नेछन्। यसका अतिरिक्त बैंकका कर्मचारी र उनीहरूका परिवारका सदस्यलाई युआरएलका नियमित प्रयोगशाला सेवामा विशेष छुटको व्यवस्था गरिएको छ।

दुवै संस्थाले बैंकिङ र स्वास्थ्य सेवाबीचको यो सहकार्यबाट सेवाग्राहीलाई थप सुविधा पुग्ने विश्वास व्यक्त गरेका छन्। युआरएलले विश्वसनीय रिपोर्ट, गुणस्तरीय स्वास्थ्य सेवा र स्वस्थ समाज निर्माण गर्ने आफ्नो अभियानलाई यस सहकार्यले थप मजबुत बनाउने जनाएको छ। लुम्बिनी विकास बैंकले पनि ग्राहक तथा कर्मचारीको हितलाई प्राथमिकतामा राख्दै सम्झौता गरिएको बताएको छ।

युआरएलले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघसंस्थासँग समन्वय गर्दै स्वास्थ्य परीक्षण तथा स्वास्थ्य चेतनासम्बन्धी सेवामा सहुलियत प्रदान गर्दै आएको छ। यो सहकार्यबाट बैंकका ग्राहकले वित्तीय सेवाका अतिरिक्त स्वास्थ्य क्षेत्रमा पनि प्रत्यक्ष लाभ प्राप्त गर्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0