पोखरा १४, माघ। भारतीय संगीत आकाशका चम्किला तारा तथा करोडौँ मुटुका ढुकढुकी मानिने गायक अरिजित सिंहले चलचित्र गायन (प्लेब्याक गायन) बाट सन्यासको घोषणा गरेका छन्। मंगलबार साँझ सामाजिक सञ्जालमार्फत एक भावनात्मक सन्देश जारी गर्दै उनले अबदेखि कुनै पनि नयाँ चलचित्रका लागि गीत नगाउने निर्णय सार्वजनिक गरेका हुन्। नयाँ वर्ष २०२६ को शुभकामना दिने क्रममा उनले आफ्नो डेढ दशक लामो चलचित्र गायन यात्रालाई यहीँ पूर्णविराम लगाउने बताएका छन्। उनले लेखेका छन्, “मलाई यति धेरै माया र समर्थन दिनुहुने सबै श्रोताहरूलाई धन्यवाद। म अबदेखि प्लेब्याक भोकलिस्टको रूपमा कुनै नयाँ काम लिने छैन, यो सुन्दर यात्रालाई म यहीँ समाप्त गर्दैछु।”
अरिजितको यो अप्रत्याशित घोषणाले बलिउड उद्योग र विश्वभर रहेका उनका प्रशंसकहरूलाई स्तब्ध बनाएको छ। सन् २०१३ मा ‘आशिकी २’ को ‘तुम ही हो’ गीतबाट रातारात चर्चामा आएका अरिजितले त्यसयता ‘चन्ना मेरेया’, ‘अपना बना ले’, ‘ओ माही’ र ‘अगर तुम साथ हो’ जस्ता सयौँ अविस्मरणीय गीतहरू पस्किसकेका छन्। उनले पछिल्लोपटक सलमान खानको बहुप्रतिक्षित चलचित्र ‘ब्याटल अफ गलवान’ को ‘मातृभूमि’ बोलको गीतमा आफ्नो आवाज दिएका थिए। चलचित्र गायनबाट अलग हुने निर्णय गरे पनि अरिजितले आफ्नो सांगीतिक जीवन भने नरोकिने प्रस्ट पारेका छन्। उनले आगामी दिनमा स्वतन्त्र संगीत (इन्डिपेन्डेन्ट म्युजिक) र शास्त्रीय संगीततर्फ बढी ध्यान केन्द्रित गर्ने र ‘स्वतन्त्र कलाकार’ का रूपमा सक्रिय रहने संकेत दिएका छन्। दुई वर्षअघि काठमाडौँमा भव्य प्रस्तुति दिएका अरिजितको यो निर्णयले बलिउडमा एउटा स्वर्णिम युगको अन्त्य भएको महसुस गरिएको छ।


































