पोखरा २८, माघ। नेपाली चलचित्र क्षेत्रका एक्सन स्टार निखिल उप्रेती लामो समयको अन्तरालपछि पुनः पर्दामा सक्रिय देखिएका छन्। आफ्नै निर्देशनमा तयार भएको चलचित्र ‘आचार्य’ को सुटिङ सम्पन्न गरेलगत्तै उनी नयाँ फिल्म ‘कस्तुरी’ मा अनुबन्धित भएका हुन्। मंगलबार ललितपुरको प्रसिद्ध बङ्गलामुखी मन्दिरमा शुभ मुहूर्त गरिएसँगै यस फिल्मको औपचारिक छायाङ्कन सुरु भएको छ। यस चलचित्रमा निखिलले पहिलो पटक लोकप्रिय नायिका वर्षा सिवाकोटीसँग स्क्रिन सेयर गर्दैछन्, जसले गर्दा दर्शकमाझ थप कौतूहल जगाएको छ।

ऋत बोहोराको लेखन तथा निर्देशनमा तयार हुन लागेको ‘कस्तुरी’ एक क्राइम सस्पेन्स थ्रिलर विधाको चलचित्र हो। यसको छायाङ्कन मुख्यत: काठमाडौं उपत्यकाभित्रका विभिन्न स्थानहरूमा गरिने निर्देशक बोहोराले जानकारी दिएका छन्। चलचित्रमा निखिल र वर्षाका साथमा निर्मल शर्मा, नीशा अधिकारी, भोलाराज सापकोटा र अर्जुन गुरुङ लगायतका कलाकारहरूको मुख्य भूमिका रहनेछ। धिरजकुमार अग्रवाल निर्माता रहेको यो फिल्म टेन इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भइरहेको छ। वि.सं. २०७५ सालमा प्रदर्शन भएको ‘भिलेन’ पछि करिब सात वर्ष पर्दाबाट टाढा रहेका निखिल अब भने ‘कस्तुरी’ पछि लगत्तै ‘पारस’ को काममा जुट्ने तयारीमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0