पोखरा २८, चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले देशको समग्र आर्थिक विकासका लागि निजी क्षेत्रको पुँजी र उद्यमशीलतालाई मजबुत बनाउनु अपरिहार्य रहेको बताएका छन्। उनले निजी क्षेत्रको सुदृढीकरणबिना राष्ट्रको अर्थतन्त्र स्थायित्व र समृद्धिको मार्गमा अघि बढ्न नसक्ने स्पष्ट पारेका छन्।
शनिबार राजधानीमा आयोजित राष्ट्रिय उद्यम विकास सहजकर्ता महासंघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै सांसद झाले अर्थतन्त्रको आधारभूत संरचनाबारे व्याख्या गर्दै तीन तहका आर्थिक प्रणालीहरूको महत्त्व औंल्याए। उनका अनुसार कुनै पनि देशको अर्थतन्त्र निजी क्षेत्र, सरकारी क्षेत्र र विकास साझेदार अर्थतन्त्रको संयोजनबाट सञ्चालन हुने गर्दछ। यद्यपि, तीमध्ये निजी क्षेत्रको भूमिका सबैभन्दा निर्णायक हुने उनले उल्लेख गरे।
उनले भने, “जबसम्म निजी क्षेत्रको अर्थतन्त्र बलियो हुँदैन, तबसम्म देशको समग्र आर्थिक संरचना पनि बलियो बन्न सक्दैन। निजी क्षेत्रले रोजगारी सिर्जना, उत्पादन वृद्धि र नवप्रवर्तनलाई अघि बढाउने काम गर्छ।” उनले निजी क्षेत्रको विकासले मात्र दीर्घकालीन आर्थिक स्थायित्व सुनिश्चित गर्न सक्ने तर्क प्रस्तुत गरे।
सांसद झाले आफ्नो धारणा स्पष्ट पार्दै अन्तर्राष्ट्रिय उदाहरणहरू प्रस्तुत गरे। उनले सन् २०२६ को तथ्यांक उद्धृत गर्दै अमेरिकामा निजी क्षेत्रको पुँजी साढे ४६ हजार खर्ब रुपैयाँ बराबर रहेको र चीनमा करिब ३० हजार खर्ब बराबरको निजी लगानी रहेको जानकारी दिए। उनका अनुसार यी तथ्यांकहरूले विकसित राष्ट्रहरूको आर्थिक शक्तिमा निजी क्षेत्रको योगदान कति महत्वपूर्ण छ भन्ने स्पष्ट पार्छ।
नेपालको सन्दर्भमा उनले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीतिहरू निर्माण गर्नुपर्ने, लगानीमैत्री वातावरण तयार गर्नुपर्ने तथा उद्यमशीलता प्रवर्द्धनमा राज्यले सहजीकरण गर्नुपर्नेमा जोड दिए। उनले निजी क्षेत्र र सरकारबीच सहकार्यलाई सुदृढ बनाउन सके मात्र आर्थिक प्रगति सम्भव हुने बताए।
सांसद झाले अन्त्यमा नेपालको अर्थतन्त्रलाई सबल बनाउन निजी क्षेत्रको भूमिका केन्द्रीय रहेको उल्लेख गर्दै त्यसको विकासलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखे।































