पोखरा २८, चैत्र । पश्चिम एसियामा पछिल्लो समय चर्किएको तनावलाई कम गर्ने प्रयासस्वरूप अमेरिका र इरानबीचको बहुप्रतीक्षित वार्ता आज पाकिस्तानको राजधानी इस्लामावादमा सुरु हुँदैछ। पाकिस्तानको मध्यस्थतामा आयोजना हुन लागेको यस वार्ताले क्षेत्रीय स्थिरता र विश्व अर्थतन्त्रमा देखिएको अस्थिरता कम गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। केही समयअघि मात्र दुवै देश दुई साताको युद्धविराममा सहमत भएका थिए, जसले वार्ताको ढोका खोलेको मानिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत इरानबाट १० बुँदे प्रस्ताव प्राप्त भएको बताएका छन्, जसलाई उनले वार्ताको व्यवहारिक आधारका रूपमा प्रस्तुत गरेका छन्। यद्यपि इरानका विदेशमन्त्री अब्बास अरागचीले भने अमेरिकाले १५ बुँदे प्रस्ताव पठाएको दाबी गरेका छन्, जसले दुवै पक्षबीच अझै दृष्टिकोणमा स्पष्टता नआएको संकेत गर्छ।

वार्तामा अमेरिकाको तर्फबाट उपराष्ट्रपति जेडी भान्सले नेतृत्व गर्नेछन् भने विशेष दूत स्टीभ विटकफ र जेरेड कुसनर उनको टोलीमा सहभागी रहेका छन्। इरानका तर्फबाट संसद्का अध्यक्ष मोहम्मद बगर गालिबाफले प्रतिनिधित्व गरिरहेका छन्। पाकिस्तानले वार्ताको सुरक्षाका लागि कडा व्यवस्था मिलाएको र दुवै पक्षलाई विश्वस्त बनाएको जनाएको छ।

वार्ताको मुख्य एजेन्डा चार महत्वपूर्ण विषयमा केन्द्रित रहने देखिएको छ। पहिलो, इरानको परमाणु कार्यक्रम हो, जसबारे अमेरिका लामो समयदेखि चिन्तित रहँदै आएको छ। अमेरिकाले इरानमाथि परमाणु हतियार विकासको आरोप लगाउँदै आएको छ भने इरानले त्यसलाई अस्वीकार गर्दै नागरिक प्रयोजनका लागि युरेनियम समृद्धिकरण आफ्नो अधिकार भएको दाबी गर्दै आएको छ। पछिल्ला सैन्य हमलापछि इरानको परमाणु संरचनामा ठूलो क्षति पुगेको अमेरिकी दाबी छ, तर त्यसको वास्तविक अवस्था अझै स्पष्ट छैन।

दोस्रो मुद्दा इरानको मिसाइल र ड्रोन कार्यक्रम हो। अमेरिकाले इरानलाई ब्यालिस्टिक मिसाइल विकास रोक्न र क्षेत्रीय समूहहरूलाई सैन्य सहयोग बन्द गर्न दबाब दिइरहेको छ। यस विषयमा इरानको धारणा के हुनेछ भन्ने अझै स्पष्ट छैन, तर यो वार्ताको संवेदनशील पक्ष मानिएको छ।

तेस्रो महत्वपूर्ण विषय होर्मुज स्ट्रेटको व्यवस्थापन हो, जुन विश्व ऊर्जा आपूर्तिको प्रमुख मार्ग मानिन्छ। हालको तनावका कारण यहाँको गतिविधि प्रभावित हुँदा अन्तर्राष्ट्रिय बजारमा ऊर्जा संकट र मूल्यवृद्धि देखिएको छ। इरानले यस क्षेत्रमा आफ्नो नियन्त्रणलाई रणनीतिक रूपमा प्रयोग गर्दै आएको छ।

चौथो मुद्दा लेबनानमा जारी तनावसँग सम्बन्धित छ। इरानले क्षेत्रीय स्तरमा शत्रुता अन्त्य गर्न जोड दिइरहेको भए पनि इजरायलले लेबनानमा सैन्य कारबाही जारी राखेको छ। यसले वार्तालाई थप जटिल बनाएको छ।

यद्यपि दुवै पक्षका वार्ताकारहरूले सकारात्मक नतिजाको आशा व्यक्त गरेका छन्, अन्तर्राष्ट्रिय समुदायमा अझै संशय कायम रहेको छ। विभिन्न देशका कूटनीतिक विश्लेषकहरूले वार्ताको सफलताका लागि स्पष्टता र आपसी विश्वास आवश्यक रहेको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0