पोखरा १४, माघ। गण्डकी क्षेत्रकै अग्रणी प्राविधिक शिक्षण संस्था पोखरा इन्जिनियरिङ कलेज (पेक) मा बुधबारदेखि नवौँ संस्करणको प्राविधिक प्रदर्शनी ‘पेक इन्जिनियरिङ्ग प्रदर्शनी–२०८२’ सुरु भएको छ। कलेज परिसरमै आयोजना गरिएको यस दुई दिने प्रदर्शनीको मुख्य उद्देश्य विद्यार्थीहरूमा रहेको प्राविधिक ज्ञानलाई व्यावहारिक रूपमा प्रस्तुत गर्ने र उनीहरूको सिर्जनात्मक क्षमतालाई उजागर गर्नु रहेको छ। प्रदर्शनीमा इन्जिनियरिङका विभिन्न विधामा प्रि–डिप्लोमादेखि स्नातकोत्तर तहसम्म अध्ययनरत विद्यार्थीहरूले तयार पारेका ६० भन्दा बढी नवीन र सिर्जनात्मक परियोजनाहरू प्रदर्शनमा राखिएका छन्।

कलेजका प्रशासन प्रमुख चिजकाजी गुरुङका अनुसार विद्यार्थीहरूले सैद्धान्तिक ज्ञान हासिल गरिसकेपछि त्यसलाई नवप्रवर्तन (Innovation) मा बदल्न सकून् भन्ने हेतुले हरेक दुई वर्षमा यस्तो एक्स्पो आयोजना गर्ने गरिएको हो। यस वर्षको प्रदर्शनीमा प्राविधिक प्रदर्शनका साथै अन्तर–कलेज ह्याकाथन, आईटी परियोजना प्रदर्शन, आर्किटेक्चर डिजाइन ह्याकाथन, भित्ते कला प्रतियोगिता र पप्सिकल स्टिक पुल डिजाइन प्रतियोगिता जस्ता आठ वटा विशेष विधामा प्रतिस्पर्धा भइरहेका छन्। विशेषगरी कम्प्युटर तथा सूचना प्रविधि (IT) तर्फको ह्याकाथनमा प्रथम हुनेले ३५ हजार रुपैयाँ पुरस्कार पाउने व्यवस्था गरिएको छ भने आर्किटेक्चर र सिभिल इन्जिनियरिङका विद्यार्थीहरूका लागि पनि आकर्षक नगद पुरस्कारको व्यवस्था छ।

प्रदर्शनीमा सरकारी तथा गैरसरकारी निकायका प्राविधिक, उद्योगी, व्यवसायी र शैक्षिक क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहेको छ। कलेजका प्रिन्सिपल ई. सोम गुरुङले उत्कृष्ट सिभिल र कम्प्युटर परियोजनाहरूलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिने जानकारी दिँदै यस्ता प्रदर्शनीले विद्यार्थीहरूलाई व्यावसायिक बजारका लागि तयार पार्ने विश्वास व्यक्त गर्नुभयो। गण्डकी प्रदेशकै पहिलो निजी इन्जिनियरिङ कलेजका रूपमा स्थापित पेकले आयोजना गरेको यो एक्स्पो माघ १५ गतेसम्म चल्नेछ, जसले पोखराको प्राविधिक विकास र शैक्षिक वातावरणमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0