पोखरा २८, चैत्र । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका विश्वकै सबैभन्दा ठूलो तेल स्रोत भएको देश रहेको दाबी गरेका छन्। शनिबार आफ्नो सामाजिक सञ्जाल ‘ट्रूथ सोसल’ मार्फत सार्वजनिक अभिव्यक्तिमा उनले अमेरिका न केवल तेल उत्पादनमा अग्रणी रहेको, तर गुणस्तरका हिसाबले पनि उत्कृष्ट तेल भण्डारण गरेको बताएका हुन्।

ट्रम्पले आफ्नो पोस्टमा ठूलो संख्यामा खाली तेल ट्यांकर अमेरिकातर्फ गइरहेको उल्लेख गर्दै तिनीहरू विश्वकै उत्कृष्ट तेल र ग्यास भर्नका लागि आएको दाबी गरेका छन्। उनले अमेरिकाको ऊर्जा स्रोतलाई विश्वका अन्य प्रमुख तेल अर्थतन्त्रहरूसँग तुलना गर्दै अमेरिका ती सबैभन्दा अगाडि रहेको दाबी गरेका छन्। “दुनियाँका भविष्यका सबैभन्दा ठूला तेल अर्थतन्त्रलाई जोड्दा जति तेल हुन्छ, अमेरिकासँग त्यसभन्दा बढी तेल छ,” ट्रम्पले लेखेका छन्।

उनले अमेरिकी तेलको गुणस्तर पनि अत्यन्त उच्च रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय बजारका खरिदकर्तालाई अमेरिका आएर ऊर्जा स्रोत खरिद गर्न आग्रह गरेका छन्। ट्रम्पले आफ्नो सन्देशमा “हामी तपाईँको प्रतीक्षा गरिरहेका छौं, छिटो आउनुस्” भन्ने अभिव्यक्ति प्रयोग गर्दै अमेरिकी ऊर्जा बजार खुला र आकर्षक रहेको संकेत दिएका छन्।

ट्रम्पको यो अभिव्यक्ति विश्व ऊर्जा बजारमा प्रतिस्पर्धा र रणनीतिक सन्देशका रूपमा हेरिएको छ। पछिल्लो समय पश्चिम एसियामा देखिएको तनाव र तेल आपूर्ति अस्थिरताबीच अमेरिकाले आफ्नो ऊर्जा क्षमता देखाउन खोजेको विश्लेषण गरिएको छ।

यसैबीच, ट्रम्पले यस्तो दाबी सार्वजनिक गरिरहँदा पाकिस्तानको इस्लामावादमा अमेरिकी प्रतिनिधिमण्डल इरानसँग शान्ति वार्तामा संलग्न रहेको छ। यसले ऊर्जा राजनीति र कूटनीतिक प्रयासबीचको सम्बन्धलाई पनि उजागर गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0