पोखरा २८, चैत्र । पश्चिम एसियामा बढ्दो भूराजनीतिक तनावका कारण पेट्रोलियम पदार्थको आपूर्ति प्रभावित हुँदा पूर्वी नेपालको महत्वपूर्ण पूर्वाधार आयोजना काँकडभिट्टा–लौकही सडक निर्माण कार्य सुस्ताएको छ। निर्माण कम्पनीका अनुसार कालोपत्रका लागि अत्यावश्यक बिटुमिन अभाव र डिजेलको सीमित आपूर्तिले काममा गम्भीर असर परेको हो।

काँकडभिट्टा–लौकही सडक अन्तर्गत पूर्वी खण्डमा स्तरोन्नतिको काम गरिरहेको इभ्रास्कन कालिका जे.भी.ले हाल मुख्य सिजनमै कालोपत्र गर्ने कार्यमा कठिनाइ झेलिरहेको जनाएको छ। कम्पनीका प्रोजेक्ट म्यानेजर उज्वल प्रसाईंका अनुसार हाल स्टकमा रहेको बिटुमिनले बढीमा १० देखि १५ दिन मात्र काम धान्न सक्ने अवस्था रहेको छ। उनले वर्षाअघि पहिलो तहको कालोपत्र सम्पन्न गर्ने लक्ष्य राखेर २२ किलोमिटर सडकमा बेस तयार गरिसकिएको बताए। तर पर्याप्त बिटुमिन नहुँदा उक्त क्षेत्रमा काम अगाडि बढाउन चुनौती उत्पन्न भएको छ।

प्रसाईंका अनुसार बिटुमिन महँगो मूल्यमा खरिद गरिए पनि आवश्यक परिमाणमा उपलब्ध हुन सकेको छैन। पश्चिम एसियामा देखिएको तनावका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भई आपूर्ति शृंखला प्रभावित भएको निर्माण पक्षको भनाइ छ। यसैका कारण निर्माण व्यवसायीले बिटुमिन आयात गर्न खोलेको एलसी समेत फिर्ता भएको जानकारी आयोजनालाई गराइएको छ।

यसैबीच, नेपाल आयल निगमले लागू गरेको डिजेल कोटा प्रणालीले निर्माण कार्यलाई थप प्रभावित बनाएको छ। परियोजनाका लागि आवश्यक डिजेल पर्याप्त मात्रामा उपलब्ध नभएपछि काम रोकिने अवस्थासम्म पुगेको निर्माण कम्पनीले जनाएको छ। आयोजनाका पूर्वी खण्ड प्रमुख सीडीई सुनिलबाबु पन्तले हाल उपलब्ध सीमित बिटुमिनकै भरमा काम भइरहेको बताए।

उनका अनुसार यदि पश्चिम एसियाको तनाव यथावत् रहिरह्यो भने आगामी एक हप्तादेखि दश दिनभित्रै निर्माण कार्य पूर्ण रूपमा अवरुद्ध हुन सक्ने खतरा रहेको छ। ४५ किलोमिटर लम्बाइको काँकडभिट्टा–सीतापुरी खण्ड १० अर्ब ६ करोड ९४ लाख रुपैयाँको लागतमा स्तरोन्नति भइरहेको छ, जसलाई क्षेत्रीय विकास र यातायात सञ्जाल विस्तारका लागि महत्वपूर्ण मानिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0