पोखरा, २० असार। दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको मुख्य भूमिका रहेको फिल्म ‘कुली’मा बलिउड नायक आमिर खानको अभिनय रहने आधिकारिक पुष्टि भएको छ। यसअघि फिल्ममा आमिरको संलग्नता बारे चर्चा चले पनि निर्माण पक्षबाट कुनै आधिकारिक जानकारी सार्वजनिक भएको थिएन। तर शुक्रबार बिहान निर्माण टिमले फिल्मको आधिकारिक एक्स (पूर्व ट्विटर) खाताबाट एक पोस्टर सार्वजनिक गर्दै आमिर खानको उपस्थितिबारे जानकारी दिएको हो।
सार्वजनिक पोस्टरमा आमिरलाई ‘दहा’ नामक भूमिकामा प्रस्तुत गरिएको छ। पोस्टरमा उनी ‘फिट योङ म्यान’को रूपमा देखिन्छन्। सामाजिक सञ्जालमा पोस्टर सार्वजनिक भएपछि आमिरको भूमिकालाई लिएर दर्शकमाझ ठूलो उत्साह देखिएको छ। यद्यपि उनले फिल्ममा मुख्य भूमिका नभई विशेष ‘केमियो’ भूमिका निर्वाह गरेका हुन्, जुन उनले केही दिनअघि दिएको एक अन्तर्वार्तामा स्वयं स्पष्ट गरेका थिए।
फिल्मप्रेमीहरूका लागि रजनीकान्त र आमिर खानलाई एउटै पर्दामा देख्न पाउनु रोमाञ्चक अनुभव हुने विश्वास गरिएको छ। दर्शकमाझ लोकप्रियता प्राप्त यी दुई कलाकारले पहिलो पटक एउटै प्रोजेक्टमा सहकार्य गर्न लागेको खबरले चलचित्र उद्योगमा थप चर्चा सिर्जना गरेको छ। आमिर खानको छनोटप्रतिको गहिरो अध्ययन र उत्कृष्ट स्क्रिप्टप्रतिको लगावले पनि दर्शकहरूमा अपेक्षा उच्च बनाएको छ।
रजनीकान्तको अभिनय सशक्तता र आमिर खानको प्रभावशाली उपस्थिति मिसिएको ‘कुली’ले भारतीय सिनेमा बजारमा व्यापक प्रभाव पार्ने अनुमान गरिएको छ। निर्माण टिमले अन्य कलाकार र प्रदर्शन मिति सम्बन्धी विवरण चाँडै सार्वजनिक गर्ने तयारी गरेको छ।































