पोखरा, १६ असार। इंग्लिस फरवार्ड ह्यारी केनको शानदार प्रदर्शनसहित जर्मन जायन्ट बार्यन म्युनिखले क्लब विश्वकपको अन्तिम १६ मा ब्राजिलियन क्लब फ्लामेंगोलाई ४–२ ले पराजित गर्दै क्वार्टरफाइनल यात्रा तय गरेको छ। मियामीको हार्ड रक स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलमा सुरुआतदेखि नै आक्रामक शैली अपनाएको बार्यनले पहिलो हाफमै निर्णायक अग्रता बनाएको थियो।
खेलको छैटौं मिनेटमा फ्लामेंगोका एरिक पुलगारको आत्मघाती गोलले बार्यनलाई प्रारम्भिक अग्रता दिलायो। त्यसको तीन मिनेटपछि ह्यारी केनले गोल गर्दै अन्तर दोब्बर बनाए। फ्लामेंगोले भने ३३औं मिनेटमा गेर्सनको गोलमार्फत एक गोल फर्काउँदै आशा देखायो। तर, त्यसको आठ मिनेटपछि लियोन गोरेट्ज्काले बार्यनका लागि तेस्रो गोल गर्दै पहिलो हाफमै ३–१ को अग्रता दिलाए।
दोस्रो हाफको ५४औं मिनेटमा फ्लामेंगोकाका जोर्जिन्होले पेनाल्टीमार्फत गोल गर्दै अन्तर घटाए। तर, ७३औं मिनेटमा पुनः केनले व्यक्तिगत दोस्रो गोल गर्दै बार्यनको जित सुनिश्चित गरे। केनको तीव्र गतिको खेल र संयमित फिनिशिङले बार्यनको अग्रपंक्तिलाई अझ सशक्त बनायो।
यस जितसँगै बार्यन म्युनिखले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)सँग भिड्नेछ। पीएसजीले इन्टर मियामीलाई पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाइसकेको छ। युरोप र दक्षिण अमेरिकी फुटबलको प्रतिष्ठा बोकेको खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

































