पोखरा १, फागुन । स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनल अन्तर्गत पहिलो लेगको खेलमा बार्सिलोनाले एट्लेटिको म्याड्रिडसँग ४–० को अप्रत्याशित र लज्जास्पद हार व्यहोरेको छ । एट्लेटिकोको घरेलु मैदान सिभिटास मेट्रोपोलिटानोमा बिहीबार राति भएको खेलमा घरेलु टोलीले पहिलो हाफमै चार गोल गर्दै बार्सिलोनालाई स्तब्ध पारेको थियो । खेलको सातौँ मिनेटमा बार्सिलोनाका डिफेन्डर एरिक गार्सियाले आफ्नै गोलरक्षकलाई पास दिने क्रममा आत्मघाती गोल गरेपछि बार्सिलोना दबाबमा परेको थियो । त्यसपछि खेलको १४ औँ मिनेटमा एन्टोनी ग्रिजम्यान, ३३ औँ मिनेटमा एडेमोला लुकम्यान र पहिलो हाफको अतिरिक्त समयमा जुलियन अल्भारेजले गोल गर्दै एट्लेटिकोलाई ४–० को विशाल अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा बार्सिलोनाले खेलमा फर्कने प्रयास गरे पनि सफल हुन सकेन । खेलको ५२ औँ मिनेटमा बार्सिलोनाका पाउ कुबार्सीले गोल गरे पनि भिडियो असिस्टेन्ट रेफ्री (VAR) ले त्यसलाई अफसाइड ठहर गर्दै मान्यता दिएन । बार्सिलोनाको रात झनै खराब तब बन्यो जब खेलको ८५ औँ मिनेटमा एरिक गार्सियाले विपक्षी खेलाडी एलेक्स बेनालाई फउल गरेपछि रातो कार्ड पाउँदै मैदान बाहिरिनु पर्यो । एउटै खेलमा आत्मघाती गोल र रातो कार्ड पाउने गार्सियाको प्रदर्शन बार्सिलोनाका लागि बिर्सनलायक बन्यो । अब फाइनल प्रवेशका लागि बार्सिलोनाले आगामी मार्च ३ तारिखमा आफ्नो घरेलु मैदानमा हुने दोस्रो लेगको खेलमा कम्तीमा पाँच गोलको अन्तरले जित्नुपर्ने ठूलो चुनौती रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0