पोखरा १, फागुन । सहारा क्लब पोखराको आयोजनामा पोखरा रंगशालामा जारी २५ औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा मनाङ मर्स्याङ्दी क्लबले शानदार जित दर्ता गरेको छ । बिहीबार भएको प्रिक्वाटर फाइनल खेलमा मनाङले विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलको यात्रा सुरक्षित गरेको हो । खेलमा सुरुवाती अग्रता एपिएफले लिएको भए पनि दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै मनाङले नतिजा आफ्नो पक्षमा पारेको थियो । एपिएफका लागि युवराज राईले खेलको ११ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने मनाङका तर्फबाट रोनिश धेके राजभाक र सुरेश कुमालले गोल गर्दै जित सुनिश्चित गरे ।

मनाङको जितमा म्यान अफ दि म्याच घोषित रोनिश धेके राजभाकले ५७ औं मिनेटमा बराबरी गोल फर्काएका थिए भने ७७ औं मिनेटमा सुरेश कुमालले हेडिङमार्फत दोस्रो गोल गरेका थिए । रजत जयन्तीको अवसरमा आयोजित यस प्रतियोगितामा मनाङले अब क्वाटरफाइनलमा भारतको थन्डरबोल्ट युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ । १२ टोली सहभागी यस प्रतियोगितामा समूह ‘क’ बाट मनाङ अगाडि बढेको छ भने गोर्खा इन्टरनेशनल हङकङ र एपिएफ प्रतियोगिताबाट बाहिरिएका छन् । फागुन ९ गतेसम्म सञ्चालन हुने यस प्रतिष्ठित गोल्डकपको विजेताले १४ लाख १ हजार र उपविजेताले ७ लाख १ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0