पोखरा, २७ जेठ। तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–२ कुवादीमा सोमबार साँझ चितुवाको आक्रमणबाट एक बालकको ज्यान गएको छ। आफ्नै घरको आँगनमा बसेका ६ वर्षीय उत्सव गुरुङलाई चितुवाले एक्कासी आक्रमण गर्दा उनी गम्भीर घाइते भएका थिए। स्थानीयले तत्कालै उनलाई उपचारका लागि बन्दीपुर अस्पताल पु¥याए पनि साँझ ८:२० बजेतिर डाक्टरले मृत घोषित गरेका थिए।
यो घटना पछिल्लो समय तनहुँमा बढ्दो चितुवा आतंकको निरन्तरता हो। यसअघि पनि बन्दीपुर गाउँपालिका–२ मै गत चैत २९ गते १० वर्षीया अनुजा बिकको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो। अनुजा घरभन्दा डेढ किलोमिटर टाढा फुपु दिदीको घर जाने क्रममा हराएकी थिइन् भने उनको शव जंगलमा चितुवाले खाएको अवस्थामा भेटिएको थियो।
डिभिजन वन कार्यालय तनहुँका अनुसार वि.सं. २०७४ देखि हालसम्म तनहुँका विभिन्न पालिकाहरूमा १६ जना बालबालिकाले चितुवाको आक्रमणमा परेर ज्यान गुमाइसकेका छन्। तीमध्ये अधिकांश १२ वर्षभन्दा कम उमेरका छन्। वन्यजन्तुहरूको सिकारमा कमी आएको, जंगलको फडानी र बस्ती विस्तार बढेको लगायतका कारणले मानव र वन्यजन्तुबीचको द्वन्द्व तीव्र बन्दै गएको वन कार्यालयको भनाइ छ।
चितुवाको आक्रमणबाट ज्यान जोगाउन साँझपख घर वरपर उज्यालो राख्ने, झाडी सफा गर्ने, बालबालिका र वृद्धवृद्धालाई एक्लै नछोड्ने जस्ता सतर्कता अपनाउन विशेषज्ञहरूले सुझाव दिएका छन्। यस्ता दुर्घटनाबाट बालबालिकाको सुरक्षाका लागि स्थानीय तह र सरोकारवालाहरूको सक्रियता आवश्यक देखिन्छ।
































