पोखरा, २० जेठ। पोखरा–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिर परिसरमा सञ्चालन भइरहेको श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा मंगलबार नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको आगमन हुने भएको छ। महायज्ञको उत्तरार्ध तर्फ प्रवेश गरिरहेको बेला भक्तजनको उल्लेख्य सहभागिता रहेको छ। लगातार वर्षा भइरहे पनि दर्शनार्थीको उत्साह र आस्थामा कमी आएको छैन।

कोटिहोममा देशविदेशबाट आएका साधु–सन्त, कथाव्यास र प्रतिष्ठित कलाकारहरूको सहभागिताले धार्मिक वातावरणलाई थप रौनक बनाएको छ। सोमबार भागवत मञ्जरी राधिका दासीले गुरुङ समुदायको सांस्कृतिक पहिरनमा कथा वाचन गरेकी थिइन्। उनी मखमल र भेलभेटको चोलो, कटनको लुंगी, कालो टिकिस, पटुका र मलिनको पछ्यौरीमा सजिएर पाण्डलमा प्रस्तुत भएकी थिइन्, जसले कोटिहोमको समावेशी उद्देश्यलाई झल्काउँछ।

कोटिहोममा विगत केही दिनदेखि भव्य धार्मिक अनुष्ठानहरू, यज्ञ, पूजा, पाठ तथा सामाजिक कार्यहरू सञ्चालन भइरहेका छन्। रक्तदान कार्यक्रम, ग्रहशान्ति, व्रत उद्यापन, पितृ उद्धार, दीप प्रज्वलनदेखि गोदानसम्मका विविध कर्मकाण्डहरू महायज्ञमा समावेश छन्।

कोटिहोमको आयोजना मानव सेवा फाउन्डेसनले गरिरहेको हो। व्यवस्थापक विष्णु थापाका अनुसार महायज्ञमा भाग लिनेहरूले पारिवारिक सुख, सुस्वास्थ्य र समृद्धिको कामना गर्दै विविध धार्मिक कृत्यमा सहभागिता जनाइरहेका छन्। प्रचार संयोजक लेखराज ढकालले सामाजिक सञ्जालमा कोटिहोमको खुलेर प्रशंसा भइरहेकाले यसको महत्व दिनप्रतिदिन बढिरहेको बताए।

महायज्ञमा प्रतिनिधि सभा सदस्य तथा पूर्व स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले विशेष उपस्थिति जनाउँदै कोटिहोमका संकल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजको मुक्तकण्ठले प्रशंसा गरेकी छिन्। धार्मिक पर्यटन प्रवर्द्धनमा कोटिहोमले ठूलो भूमिका खेल्ने उनको भनाइ छ।

श्री गण्डकी शतकुण्डीय कोटिहोम महायज्ञ यही जेठ २६ गतेसम्म सञ्चालनमा रहनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0