नेपालका अधिकांश विद्यालयहरूमा कक्षा २ देखि १२ सम्म कम्प्युटर विषय अनिवार्य जस्तै पढाइन्छ। सरसर्ती पाठ्यक्रम पल्टाएर हेर्ने हो भने यसको ५० प्रतिशतभन्दा बढी हिस्सा ‘माइक्रोसफ्ट अफिस’ (Word, Excel, PowerPoint) ले नै ओगटेको छ। तर विडम्बना, १० वर्षसम्म एउटै सफ्टवेयर पढेर विद्यालयबाट निस्किएको विद्यार्थी जब बजारमा काम खोज्न जान्छ, उसले गर्वका साथ “म यो काममा पोख्त छु” भन्न सक्दैन। रोजगारदाताले सामान्य कम्प्युटर सीप माग्दा उम्मेदवारहरू हच्किनुपर्ने अवस्था छ। किन? किनकि हामीले विद्यार्थीलाई पढायौँ तर उनीहरूको सीपलाई अन्तर्राष्ट्रिय मापदण्डमा ‘प्रमाणीकरण’ (Certification) गरेनौँ।
माइक्रोसफ्ट अफिस केवल कम्प्युटर इन्जिनियर वा प्राविधिकहरूको लागि मात्र होइन। यो आज हरेक पेसाको अक्सिजन बनेको छ। सामान्य रिसेप्सनिस्टदेखि लिएर डाक्टर, इन्जिनियर, वकिल, एकाउन्टेन्ट वा कर्पोरेट म्यानेजरसम्मलाई दैनिक कार्यसम्पादन गर्न यो नभई हुँदैन। अझ नेपालको सन्दर्भमा हेर्ने हो भने, लोकसेवा आयोगले लिने खरिदार, नायब सुब्बा र अधिकृत तहको कम्प्युटर सीप परीक्षणमा ९० प्रतिशतभन्दा बढी प्रश्न माइक्रोसफ्ट अफिसबाटै सोधिन्छन्। नेपालका जुनसुकै सरकारी वा निजी कार्यालयमा हुने ७० देखि ८० प्रतिशत काम यही सफ्टवेयरको माध्यमबाट हुन्छ।
यति धेरै महत्त्व भएको र पाठ्यक्रममा यति धेरै समय लगानी गरिएको विषयलाई हामीले केवल ‘थ्योरी’ (Theory) र ‘टाइपिङ स्पिड’ (Typing Speed) मा मात्र सीमित राखेका छौँ। विद्यालयको आन्तरिक परीक्षा पास गर्दैमा वा ‘बेसिक र डिप्लोमा’ को सामान्य तालिम लिँदैमा विद्यार्थीले काम गर्न सक्छ भन्ने ग्यारेन्टी हुँदैन। “मलाई वर्ड र एक्सेल चलाउन आउँछ” भन्नु र “म माइक्रोसफ्टबाटै प्रमाणित ‘Microsoft Office Specialist (MOS)’ हुँ” भन्नुमा आकाश-जमिनको फरक छ। पहिलोले दाबी मात्र गर्छ, दोस्रोले विश्वव्यापी रूपमा क्षमता प्रमाणित गर्छ।
प्रश्न उठ्छ- जब हामी वर्षौंसम्म माइक्रोसफ्टकै सफ्टवेयर चलाउन सिक्छौँ र सिकाउँछौँ भने, विद्यार्थीको सीप परीक्षण पनि माइक्रोसफ्टकै आधिकारिक प्रणालीबाट किन नगर्ने? आजको आवश्यकता भनेको विद्यार्थीलाई माइक्रोसफ्टकै अन्तर्राष्ट्रिय पाठ्यक्रममा आबद्ध गराई, व्यावहारिक अभ्यास गराएर माइक्रोसफ्टबाटै सर्टिफाइड गराउनु हो।
अब विद्यालय, अभिभावक र शिक्षा सरोकारवालाहरूले परम्परागत कम्प्युटर शिक्षाको ढाँचा परिवर्तन गर्नुपर्छ। घोक्ने र कापीमा लेख्ने सिकाइलाई पूर्ण रूपमा व्यावहारिक (Practical) मा बदल्नुपर्छ। सीप व्यवस्थापन प्रणाली (Skill Management System) मार्फत निरन्तर अभ्यास, अनलाइन सपोर्ट र पटक-पटक ‘मक टेस्ट’ (Mock Test) गराउँदै विद्यार्थीलाई आधिकारिक परीक्षामा सामेल गराउन सके मात्र हाम्रो शिक्षाले रोजगारमुखी नतिजा दिन्छ। यसले गर्दा विद्यार्थीहरू स्कुल तहबाटै विशेषज्ञ (Expert Level) बनेर निस्किन्छन्।
समय बदलिएको छ। अबको युगमा कागजको ‘मार्कसिट’ मात्र होइन, ‘प्रमाणित सीप’ बिक्छ। हाम्रा विद्यार्थीहरूलाई स्कुलमै छँदा अन्तर्राष्ट्रिय स्तरको ‘Microsoft Certified’ बनाउन सक्यौँ भने, भोलि उनीहरू रोजगारी खोज्दै भौँतारिनु पर्दैन; बरु रोजगारीले उनीहरूलाई खोज्दै आउनेछ। यो शैक्षिक रूपान्तरण अब ढिला गर्नु हुँदैन, सिकाइलाई सीप र प्रमाणमा बदल्ने क्रान्तिको सुरुवात आफ्नै विद्यालयबाट गरौँ।
(लेखक दिनेश लामिछाने, ‘भर्खर खबर’ का वरिष्ठ सम्पादक तथा माइक्रोसफ्टको राष्ट्रिय शैक्षिक साझेदार ‘Deep IT and Educational Consultancy’ का निर्देशक हुन्।)































