पोखरा १६, माघ। पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिपमा महिलातर्फ पाहुना टोली थाइल्याण्ड क्विन्सले तेस्रो स्थान हासिल गरेको छ। पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा बिहीबार भएको प्रतिस्पर्धात्मक खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ३–२ को कठिन सेटमा पराजित गर्दै थाइल्याण्डले कास्य पदकमा चित्त बुझाएको हो। खेल निकै रोमाञ्चक र उतारचढावले भरिएको थियो, जहाँ दुवै टोलीले अन्तिम समयसम्म उत्कृष्ट प्रदर्शन गरेका थिए। पहिलो सेट २३–२५ ले गुमाएर दबाबमा परेको थाइल्याण्डले दोस्रो सेटमा २५–११ र तेस्रो सेटमा २५–९ को फराकिलो अन्तरले जित निकाल्दै खेलमा पुनरागमन गरेको थियो। यद्यपि, चौथो सेटमा एपीएफले पुनः २५–२३ ले जित निकालेपछि खेल निर्णायक पाँचौँ सेटमा धकेलिएको थियो।
निर्णायक सेटमा थाइल्याण्डले १५–११ को स्कोरका साथ जित निकाल्दै तेस्रो स्थान सुरक्षित गर्यो। तेस्रो भएसँगै थाइल्याण्ड क्विन्सले नगद २ लाख ६ हजार ६६६ रुपैयाँ पुरस्कार प्राप्त गरेको छ। यो जितसँगै थाइल्याण्डले प्रतियोगितामा सुखद अन्त्य गरेको छ। टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी यस च्याम्पियनसिपमा महिलातर्फको मुख्य उपाधिका लागि भने न्यु डायमण्ड स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लबबीच शुक्रबार प्रतिस्पर्धा हुँदैछ। न्यु डायमण्ड यसअघि नै अपराजित रहँदै फाइनल पुगेको हो भने थाइल्याण्डको पराजयसँगै पुलिसले फाइनलको यात्रा तय गरेको थियो।
यसैगरी, पुरुषतर्फका खेलहरू पनि जारी रहेका छन्। बिहीबारै भएका पुरुषतर्फका खेलहरूमा नेपाल पुलिस क्लबले माल्दिभ्स भलिबल एसोसिएसनलाई सोझो सेटमा पराजित गरेको छ भने अर्को खेलमा त्रिभुवन आर्मी क्लबले एपीएफलाई ३–२ को सेटमा पराजित गर्दै तेस्रो स्थानका लागि आफ्नो दाबेदारी बलियो बनाएको छ। प्रतियोगिता माघ १७ गतेसम्म चल्नेछ, जसमा पुरुष र महिला दुवैतर्फका विजेताले समान ६ लाख ६६ हजार ६६६ रुपैयाँ पुरस्कार पाउनेछन्। प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन्।


































