पोखरा ४, फागुन । कर्णाली प्रदेशमा आयोजना हुने भनिएको १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता पटक–पटक स्थगित हुँदा नेपाली खेलकुद क्षेत्र र खेलाडीको भविष्यमाथि नै गम्भीर प्रश्नचिह्न खडा भएको छ। गण्डकी प्रदेशबाट छनोट भएका प्रतिभाशाली भलिबल खेलाडी सुजन चोखाल जस्ता धेरै खेलाडीहरू खेल हुने अनिश्चितताका कारण रोजगारीका लागि विदेश पलायन भइसकेका छन्। २०८१ को मंसिरका लागि तय गरिएको प्रतियोगिताका लागि गण्डकीले सात महिना अगाडि नै टोली छनोट गरे पनि निर्धारित समयमा खेल हुन सकेन। चोखाल हाल जापानमा छन् भने उनीसँगै छनोट भएका हरि पाण्डेले खेलबाट सन्यास लिइसकेका छन्, जसले राष्ट्रिय प्रतियोगिताको ढिलाइले खेलाडीको मनोबल र करियरमा कस्तो असर पुर्याउँछ भन्ने प्रस्ट पार्छ।

सरकारले पटक–पटक मिति तोक्ने तर कार्यान्वयन नगर्ने परिपाटीले खेलाडीहरूमा निरासा छाएको छ। पछिल्लो पटक ‘जेन–जी’ मन्त्रीका रूपमा नियुक्त बब्लु गुप्ताले फागुन १ देखि ७ गतेसम्मका लागि मिति घोषणा गरेका थिए, तर उनी आफैँ निर्वाचनमा होमिन राजीनामा दिएर हिँडेपछि खेलकुद थप अन्योलमा परेको छ। हाल खेलकुद मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री सुशीला कार्कीको मातहतमा छ, तर सरकारले न त खेल गराउन सकेको छ, न आधिकारिक रूपमा स्थगित भएको सूचना नै जारी गरेको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रामचरित्र मेहताले खरिद प्रक्रिया र राजनीतिक असहयोगका कारण ढिलाइ भएको दाबी गरेका छन्। उनले कर्णाली प्रदेशले आवश्यक समन्वय नगरेको र बाहिरी राजनीतिक हस्तक्षेपले क्यालेन्डर प्रभावित भएको आरोप लगाएका छन्।

यो अन्योल गण्डकीमा मात्र सीमित छैन। सुदूरपश्चिम प्रदेशका सदस्य सचिव लोकबहादुर खड्काका अनुसार धेरै प्रदेशले एक वर्षअघि नै खेलाडी छनोट गरिसकेका थिए, तर अहिले ती खेलाडीहरू कहाँ छन् भन्ने समेत जानकारी छैन। भौतिक पूर्वाधारको अभाव, आर्थिक संकट र राजनीतिक खिचातानीका कारण १०औं राष्ट्रिय खेलकुद चौथो पटक पनि स्थगित हुने अवस्थामा पुगेको छ। लगातारको ढिलाइले गर्दा पदकका लागि तयारी गरिरहेका प्रदीप खड्का जस्ता खेलाडीहरू आफ्नो उमेर घर्कदै गएकोमा चिन्तित छन्। खेलकुदलाई राजनीतिक दाउपेचको सिकार बनाइँदा समग्र खेल क्षेत्र नै धरासायी बन्ने खतरा बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0