पोखरा ११, मंसिर। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि क्षेत्रको विकासका लागि वैज्ञानिक आधार तयार पार्ने उद्देश्यले देशभर कृषि सर्वेक्षण सुरु गरेको छ। राष्ट्रिय जनगणना र कृषि गणनापछिको महत्त्वपूर्ण राष्ट्रियस्तरको कार्यक्रमका रूपमा लिइएको यस सर्वेक्षणले कृषि उत्पादन, पशुपालन, लागत, आम्दानी, सिँचाइ, पूर्वाधारको अवस्थालगायतका विस्तृत विषयवस्तुलाई समेट्नेछ। मन्त्रालयले सबै स्थानीय तह, प्रदेशको कृषि मन्त्रालयलगायत सरोकारवाला निकायसँगको समन्वयमा तथ्याङ्क सङ्कलन सुरु गरेको हो।

मन्त्रालयका तथ्याङ्क शाखा प्रमुख रामकृष्ण रेग्मीले तथ्याङ्क लिँदा दोहोरो गणना हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै एकद्वार प्रणालीबाट स्थानीय तहसँग समन्वय र सहकार्य गरिएको जानकारी दिए। गणकहरूले किसानसँग प्रत्यक्ष भेटेर सर्वेक्षण गरिरहेका छन्। नमूना विधिका माध्यमबाट सङ्कलन गरिने यस तथ्याङ्कमा पहिलो चरणमा छ लाख किसान छनोट गरिनेछ। तीमध्येबाट ५१ हजार किसानलाई अन्तिम छनोट गरी कृषि क्षेत्रमा उनीहरूको अनुभव, सरकारबाट प्रवाह गरिएका सेवा, सहुलियतमा लक्षित वर्गको पहुँच तथा समस्या पहिचान गरी आधिकारिक तथ्याङ्क सङ्कलन गरिने रेग्मीले बताए।

मन्त्रालयले सर्वेक्षण तथा तथ्याङ्क सङ्कलनका लागि स्थानीय तहमा क्षमता अभिवृद्धि गर्न तालिम तथा आवश्यक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिसकेको छ। देशभर तथ्याङ्क सङ्कलन भएपछि त्यसलाई थप अध्ययन गरी अन्तिम परिणाम आगामी पुससम्म सार्वजनिक गरिने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। यो सर्वेक्षणले कृषि नीति तथा योजना तर्जुमा गर्नका लागि वैज्ञानिक आधार तयार पार्ने विश्वास लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0