पोखरा, ३ साउन। नेकपा (एमाले) का पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले पार्टीभित्र देखिएको आन्तरिक विवाद समाधानका लागि विश्वासको आधार तयार गर्नुपर्ने सुझाव दिएका छन्। शनिबार पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकमा बोल्दै उनले अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रत्यक्ष संवादमार्फत समाधान खोज्न आग्रह गरे।
उनको भनाइमा, ओली र भण्डारीबीचको सहकार्य र विश्वासको सम्बन्ध केवल एमालेभित्र सीमित नभई सार्वजनिक ढंगले चिनिएको विषय हो। “तपाईंहरू आपसमा छलफल गरेर राजनीतिक तरिकाले विषय समाधान गर्नुहोस्, प्राविधिक बहानाले होइन,” बास्कोटाले भने।
पूर्वराष्ट्रपति भण्डारीले सक्रिय राजनीतिमा प्रवेश गर्ने संकेत दिएको सन्दर्भमा एमालेभित्र पक्ष र विपक्षमा मतभेद देखा पर्न थालेको छ। यसैको पृष्ठभूमिमा बास्कोटाले पार्टीको एकतालाई बलियो बनाउन नेतृत्व तहले परिपक्वता देखाउनुपर्ने तर्क गरे। उनले पार्टीभित्र कसैले पनि उत्तेजनापूर्ण र विभाजनकारी व्यवहार नगर्न चेतावनीसमेत दिए।
बास्कोटाले दोस्रो पुस्ताका नेताहरूलाई पनि संवाद र समन्वयमा अग्रसर बन्न आह्वान गरे। “दोस्रो पुस्ताका हौं भन्नेहरूले मिलाउने क्षमता देखाउनुपर्छ। तपाईंहरूसँग त हामी पनि प्रतिस्पर्धा गर्न तयार छौं,” भन्दै उनले नेतृत्वमा नयाँ पुस्ताको भूमिकाबारे प्रश्न पनि उठाए।
एमाले केन्द्रीय कार्यालयमा जारी बैठकमा अन्य नेताहरूले पनि धारणा राख्ने क्रम जारी रहेको छ।
































