पोखरा, ११ असार। गण्डकी प्रदेश सरकारअन्तर्गत कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको नेतृत्वमा पोखरा महानगरपालिका क्षेत्रभित्र रहेका विभिन्न कृषि सहकारी संस्थामा रासायनिक मल र विषादी बिक्री तथा व्यवस्थापन अवस्थाको अनुगमन गरिएको छ। सोमबार सम्पन्न अनुगमनमा विभिन्न सरकारी तथा निजी निकायको संयुक्त टोलीले पोखरा महानगरपालिका वडा नं. ५, ७, १२, १३, १७ र २२ मा रहेका १३ सहकारी संस्थाको निरीक्षण गरेको हो।

अनुगमन टोलीले अधिकांश सहकारी संस्थाले मल बिक्री गर्दा ग्राहकलाई बिल नदिएको, मूल्यसूची नटाँसिएको, र तोकिएको मूल्यभन्दा प्रतिकेजी १ देखि ४ रुपैयाँसम्म बढी लिएको पाएको छ। यसले सहकारी प्रणालीको पारदर्शिता र उपभोक्तामैत्री सेवाप्रति गम्भीर प्रश्न खडा गरेको अनुगमन टोलीले जनाएको छ।

यद्यपि पोखरा–१३ स्थित श्री प्रभुधाम हरियाली कृषि सहकारी संस्थाले भने ग्राहकलाई बिल दिएको, मूल्यसूची र सूचना बोर्ड राखेको पाइएपछि प्रशंसा गरिएको छ। साथै, विषादी तथा बिउबिजन बिक्री गर्ने संस्थाहरूको पनि अनुगमन गरिएको थियो, जसमा इजाजतबिना व्यापार गरिरहेका केही संस्थालाई आवश्यक प्रक्रिया पूरा गरी इजाजत लिन निर्देशन दिइएको हो।

अनुगमनमा सहभागी टोलीले मल बिक्री गर्दा ग्राहकलाई स्पष्ट रूपमा मूल्य जानकारी दिन, अनिवार्य रूपमा बिल प्रदान गर्न, तथा बिक्री कक्षमा मूल्यसूची र जानकारी बोर्ड टाँस्न निर्देशन दिएको छ।

अनुगमन टोलीमा कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका निमित्त महानिर्देशक बालकृष्ण अधिकारी, मन्त्रालयका वरिष्ठ कृषि विकास अधिकृत गोविन्द पाण्डे, कृषि अर्थ विज्ञ हिन्दी राई, कृषि ज्ञान केन्द्र कास्कीका प्रमुख किरण सिग्देल, मल तथा माटो परीक्षण प्रयोगशालाका प्रमुख सुनिल पाण्डे, कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखराका प्रमुखहरू तथा अन्य प्राविधिक अधिकारीहरूको उपस्थिति थियो।

यस अनुगमनले सहकारी संस्थाहरूमा देखिएको लापरबाही हटाउन र कृषक हितमा पारदर्शी व्यवस्था लागू गर्न सघाउने विश्वास लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0