पोखरा, ११ असार। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पछिल्लो समय पत्रकारितामा तथ्यको अभाव हुँदै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्। मंगलबार पोखरामा आयोजित ‘प्रमाणमा आधारित पत्रकारिताका लागि सूचनाको हक’ विषयक कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले व्यक्तिगत रिसइबी, डाह र ईर्ष्याका कारण सामाजिक सञ्जालमा फैलाइने अफवाहले मुख्यधारको सञ्चारमाध्यमलाई समेत प्रभावित बनाएको बताए।
उनले व्यक्तिगत सोच, अपुष्ट स्रोत वा सामाजिक सञ्जालको पोस्टलाई आधार बनाएर समाचार लेखिन थालेकोप्रति आपत्ति जनाउँदै भने, “मसँग रिस गर्ने, डाह गर्ने आफ्नै परिवारभित्रका पनि मान्छे हुन सक्छन्। उनीहरूले केही लेखे भने त्यसैलाई सत्य ठानेर समाचार लेखिनु कत्तिको औचित्यपूर्ण हुन्छ?”
मुख्यमन्त्री पाण्डेले प्रेस स्वतन्त्रताको नाममा पत्रकारितामा छाडापन देखिन थालेको टिप्पणी गर्दै पत्रकारितामा जिम्मेवारी र प्रमाणको आवश्यकता अपरिहार्य रहेको धारणा राखे। एक पत्रकारले योजना नपाएको रिसमा सरकारले ल्याएको समग्र बजेटलाई बदनाम गर्ने प्रयास भएको प्रसंग उल्लेख गर्दै उनले भने, “एउटा योजना नपाए भन्दै सबै बजेट मुख्यमन्त्रीले खायो भनेर लेख्ने प्रवृत्तिले व्यवस्थामाथि नै प्रश्न उठाउँछ।”
उनले सूचनाको हक र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गरिए पनि त्यसको प्रयोग विवेकसहित हुनुपर्नेमा जोड दिए। “स्वतन्त्रता भनेको छाडातन्त्र होइन,” मुख्यमन्त्री पाण्डेको दोहोरो प्रष्ट सन्देश थियो, “पत्रकारलाई लेख्ने हक छ तर त्यो हक तथ्यमा आधारित र प्रमाणसहितको हुनुपर्छ। मन लाग्यो भनेर लेखिने समाचार व्यवस्थामाथि खतरा बन्न सक्छ।”
कार्यक्रममा मुख्यमन्त्री पाण्डेले सूचनाको हक सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै पत्रकारहरूलाई प्रमाणिक सूचना पहुँचमा सहज वातावरण बनाउने आश्वासन पनि दिए।






























