पोखरा, १० असार। इजरायलले इरानसँगको हालको युद्धलाई चाँडै टुंग्याउने तयारी गरिरहेको संकेत दिएको छ। अमेरिकाले इरानका मुख्य आणविक स्थलहरूमा गरेको सफल हवाई आक्रमणपछि इजरायली अधिकारीहरूले युद्ध अन्त्यको आश्वासन दिएका हुन्। वाल स्ट्रिट जर्नलसँगको कुराकानीमा उनीहरूले द्विपक्षीय तनाव चाँडै अन्त्य हुने दिशामा संकेत गरेको जनाइएको छ। अमेरिकी आक्रमणबाट फोर्डो प्रसोधन केन्द्रमा ‘अत्यधिक क्षति’ पुगेको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका प्रमुखले पुष्टि गरेका छन्।

इजरायलले राजनीतिक बन्दीहरू राखिने जेल र फोर्डो प्रवेशद्वारजस्ता संवेदनशील लक्ष्यहरूमा पनि आक्रमण गरेको बताइएको छ। तर, इरानले अमेरिकी आक्रमणको प्रत्यक्ष जवाफ दिने वा नदिनेबारे अझै स्पष्ट निर्णय लिएको छैन। इरानी सर्वोच्च नेता आयतुल्लाह अली खामेनीले इजरायललाई लक्षित गर्दै भनेका छन्, ‘इजरायलले गम्भीर गल्ती गरेको छ र अहिले सजाय भोगिरहेको छ।’

पश्चिमी मुलुकहरूले इरानलाई थप प्रतिक्रियाबाट बच्न आग्रह गरिरहेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इरानी नेतृत्वमा परिवर्तनको विकल्प खुला रहेको उल्लेख गर्दै वार्ताको आवश्यकतामा जोड दिएका छन्।

यसैबीच, रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोमा इरानी विदेशमन्त्रीसँग भेट गरी अमेरिकी आक्रमणलाई ‘अवैध र अनुचित’ भन्दै इरानी जनतालाई समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। यो बीचमा क्षेत्रीय सुरक्षा र स्थिरताको लागि सबै पक्षको संयम आवश्यक रहेको देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0