पोखरा, १० असार। वडा नं. १५ कार्यालयले वडाभित्रका युवाहरूलाई लक्षित गर्दै डिजिटल मार्केटिङ सम्बन्धी दश दिने तालिम सञ्चालन गरेको छ। वडा अध्यक्ष तोरण बहादुर बानियाँले नेपालको दीर्घकालीन राष्ट्रिय सोच ‘समृद्ध नेपाल, सुखी नेपाली’, ‘डिजिटल नेपाल फ्रेमवर्क’ र ‘स्थानीय सरकार सुदृढीकरण तथा युवा सशक्तीकरण’ जस्ता नीतिगत दस्तावेजहरूसँग मेल खाने उद्देश्यले यो तालिम आयोजना गरिएको बताए। उनले भने, “यो तालिमले युवाहरूलाई आधुनिक, प्रतिस्पर्धी र सशक्त जनशक्तिमा रूपान्तरण गर्ने महत्त्वपूर्ण आधार तयार पार्नेछ।”
तालिममा डिजिटल मार्केटिङको आधारभूत ज्ञान प्रदान गर्दै प्रविधिमैत्री व्यवसायिक सोच र सीप विकासमा जोड दिइएको छ। यसले स्वरोजगार र उद्यमशीलतालाई प्रोत्साहन गर्दै स्थानीय उत्पादन तथा सेवा प्रवर्द्धनका लागि डिजिटल माध्यमको प्रयोगलाई प्रोत्साहित गर्ने उद्देश्य राखेको वडा अध्यक्षले स्पष्ट पारे।
वडा सचिव युवराज पौडेलका अनुसार तालिम शुक्रबारदेखि सुरु भई असार १७ गतेसम्म सञ्चालन हुनेछ। तालिममा डिजिटल मार्केटिङको परिचय, सर्च ईञ्जिन अप्टिमाइजेशन (SEO), सोसल मिडिया मार्केटिङ, कन्टेन्ट मार्केटिङ, कपीराइटिङ, ईमेल मार्केटिङ, गुगल एड र बुस्ट कन्सेप्ट, क्यान्भा प्रयोगमार्फत डिजाइन सीप, ब्राण्डिङ स्ट्राटेजी, व्यवसाय प्रवर्द्धन र फ्रीलान्सिङजस्ता विषयहरू समावेश छन्।
वडा सदस्य आशिष भण्डारीका अनुसार तालिममा वडा नं. १५ का २३ जना युवाहरू सहभागी छन् र सिद्ध माध्यमिक विद्यालयको सूचना प्रविधि ल्याबमा यो तालिम सञ्चालन गरिएको छ।




























