पोखरा, ९ असार। मलेशियामा जारी एसीसी मेन्स यू-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुवात गर्दै आफ्नो अभियानलाई सशक्त बनाएको छ। सोमबार सम्पन्न पहिलो खेलमा नेपालले सिंगापुरलाई ६ विकेटको सहज जित दिएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरको सुरुवात सन्तोषजनक भए पनि नेपाली बलिङ आक्रमणको दबाबमा ३६.१ ओभरमै १३८ रनमा सबै विकेट गुमाएको हो। सिंगापुरका ब्याट्सम्यानहरू नेपाली बलरहरूको कसी बलिङसामु टिक्न नसकेका थिए। नेपालका लागि बलिङतर्फ उत्कृष्ट प्रदर्शन गर्दै प्रारम्भिक विकेटहरु चाँडै निकाल्न सफल भयो।
१३९ रनको सामान्य लक्ष्य पछ्याउन उत्रिएको नेपालले ३३.३ ओभरमा मात्र ४ विकेट गुमाएर जित हात पारेको हो। नेपाली ब्याट्सम्यानहरूले संयमित तर सशक्त प्रदर्शन गर्दै सहज रूपमा लक्ष्य पुरा गरे। नेपाली टोलीको समग्र प्रदर्शनले प्रतियोगितामा बलियो टिमको छाप छोडेको छ।
नेपाल अब आफ्नो दोस्रो खेल मंगलबार जापानसँग खेल्नेछ। एसीसी यू-१६ इस्ट जोन कपमा कुल १० टोली सहभागी छन्। नेपाल समूह ‘ए’ मा रहेको छ, जसमा सिंगापुर, इन्डोनेसिया, भूटान र जापान छन्। त्यस्तै समूह ‘बी’ मा आयोजक मलेशियासँगै हङकङ, माल्दिभ्स, थाइल्यान्ड र म्यानमार प्रतिस्पर्धामा छन्।
युवा उमेर समूहका खेलाडीहरूको अन्तर्राष्ट्रिय स्तरको यो प्रतियोगितामा सहभागिताले नेपाली क्रिकेटको भविष्य उज्यालो बनाउन महत्वपूर्ण अवसर मिलेको छ। पहिलो खेलमै सिंगापुरजस्तो प्रतिस्पर्धी टोलीलाई पराजित गरेपछि नेपाल समूह चरणमा बलियो दाबेदारको रूपमा उभिएको छ।


































