पोखरा, ९ असार। स्वतन्त्र सांसद अमरेशकुमार सिंहको विवादास्पद अभिव्यक्तिले आइतबारको प्रतिनिधि सभा बैठकमा तीव्र तनाव सिर्जना गरेको छ। सिंहले नेपालको भू–भाग अर्को देशलाई लिजमा दिन सकिने अभिव्यक्ति दिएपछि बैठकमा तीव्र प्रतिकृया र विरोध देखा परेको हो।
सांसद सिंहको अभिव्यक्तिलाई आपत्तिजनक मात्र नभई राष्ट्रघाती भन्दै प्रमुख प्रतिपक्ष नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कडा आपत्ति जनाए। उनले तत्कालै उक्त अभिव्यक्तिको रेकर्ड हटाई सांसद सिंहमाथि कारबाही गर्न माग गरे। “हामी यस्ता राष्ट्रघाती अभिव्यक्तिहरू सुनेर चुप लाग्न सक्दैनौं,” बर्तौलाले भने। उनको साथमा सत्ता पक्षका अन्य सांसदहरू पनि उभिएर विरोध जनाएपछि संसदमा केही समय तनाबपूर्ण अवस्था सिर्जना भयो।
विवाद चर्किएपछि सभामुख देवराज घिमिरेले सिंहको भनाइ असंसदीय र राष्ट्रहितविपरीत भएको ठहर गर्दै संसदको रेकर्डबाट हटाउन निर्देशन दिए। सभामुख घिमिरेले स्पष्ट रूपमा विदेशी राष्ट्रको नाम लिएर नेपालको भूमि लिजमा दिन सकिने भनाइलाई अस्वीकार्य ठहर गर्दै त्यसप्रति गम्भीर आपत्ति जनाए।
यता, सांसद सिंहले भने आफ्नो अभिव्यक्तिमाथि भइरहेको विरोधप्रति असन्तुष्टि जनाएका छन्। उनले आफ्नै निर्वाचन क्षेत्रका लागि बजेट विनियोजन नहुँदा रोष प्रकट गर्न खोजेको तर आफ्नो भनाइको गलत अर्थ लगाइएको दाबी गरे। साथै, संसदमा बोल्न समेत आफूलाई बारम्बार अवरोध गरिएको गुनासो गर्दै आक्रोश पोखे।
सिंहको अभिव्यक्ति र त्यसपछिको प्रतिक्रिया संसदमा अभिव्यक्तिको स्वतन्त्रता र सीमाबारे गम्भीर बहसको विषय बनेको छ। विपक्षी मात्र नभई सत्तारूढ दलका सांसदहरूबाट समेत व्यापक आलोचना आएको पृष्ठभूमिमा यो घटनाले संसदीय मर्यादा र अभिव्यक्तिको संयमता कसरी निर्वाह गरिने भन्ने प्रश्न उठाएको छ।






























