पोखरा, ४ असार। स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी–२० अन्तरराष्ट्रिय सिरिजअन्तर्गत नेपाल आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको छ। टिटउट रङ्गशालामा सम्पन्न खेलमा निर्धारित २० ओभरको खेल बराबरी भएपछि दुई पटकसम्म सुपर ओभरमा समेत टाई भएपछि अन्ततः तेस्रो सुपर ओभरमार्फत खेलको निर्णय लिइएको हो।

नेपालले पहिलो सुपर ओभरमा १९ रन बनाउँदै २० रनको लक्ष्य दिएको थियो, जसलाई नेदरल्याण्ड्सले पनि बराबरी गर्दै खेल दोस्रो सुपर ओभरमा पुर्यायो। दोस्रो सुपर ओभरमा नेदरल्याण्ड्सले १७ रन बनाएपछि नेपालले पनि यथावत् १७ रन जोड्दै संघर्षलाई तेस्रो सुपर ओभरसम्म लम्ब्यायो। यद्यपि तेस्रो सुपर ओभरमा नेपाल शून्य रनमै समेटियो। कप्तान रोहित पौडेल पहिलो बलमै आउट भए भने रुपेश सिंह पनि रन जोड्न नसकी आउट भए। एक रनको लक्ष्यसहित मैदान उत्रेको नेदरल्याण्ड्सले पहिलो बलमै छक्का प्रहार गर्दै खेल आफ्नो पक्षमा पारेको हो।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५२ रन बनाएको थियो। उसका लागि तेजा निदामनुरुले सर्वाधिक ३५ रन बनाएका थिए भने विक्रमजित सिंहले ३०, सकिब जुल्फिकरले २५, माइकल लेभिटले २० र म्याक्स ओ’डाउडले १९ रन बनाए। नेपालका सन्दीप लामिछानेले तीन विकेट लिए भने नन्दन यादवले दुई तथा कुशल भुर्तेल र ललित राजवंशीले समान एक–एक विकेट लिए।

जवाफमा नेपालले पनि निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५२ रन नै जोड्यो। कप्तान रोहित पौडेलले ३५ बलमा ४८ रनको योगदान दिए। कुशल भूर्तेलले ३४ तथा रुपेश सिंहले १९ रन बनाए। अन्तिम बलमा नेपाललाई जितका लागि पाँच रन आवश्यक थियो। नन्दन यादवले चौका प्रहार गरेपछि खेल बराबरीमा पुगेको थियो।

नेदरल्याण्ड्सका डानियल डोरामले तीन विकेट लिए भने विक्रमजित सिंहले दुई विकेट हात पारे। काइल क्लेन, बेन फ्लेचर र जाँच लायनले समान एक–एक विकेट लिए। यसअघिको खेलमा नेदरल्याण्ड्स स्कटल्याण्डसँग ३९ रनले पराजित भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0