पोखरा, ३ असार। स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपालले घरेलु टोली स्कटल्याण्डमाथि २ विकेटको रोमाञ्चक जित हात पारेको छ। स्कटल्याण्डले दिएको ९८ रनको सामान्य लक्ष्य नेपालले १९ ओभर ५ बलमा ८ विकेट गुमाउँदै पूरा गर्दै सिरिजमा दोस्रो जित दर्ता गराएको हो।

नेपालका ओपनर कुशल भुर्तेलले इनिङको सुरुआतमा धैर्यपूर्ण प्रदर्शन गर्दै टोलीलाई स्थिर शुरुआत दिलाए। उनले ३५ बलमा ४ चौका सहित सर्वाधिक ३० रन जोडे। अन्य ब्याटरहरूले भने निरन्तर रुपमा विकेट गुमाएपछि नेपाल दबावमा परेको थियो। लोकेश बम ९ रनमा आउट हुँदा अनिलकुमार शाहले मात्र ३ रन बनाए। कप्तान रोहित पौडेलले ७, बसिर अहमदले १३ र रुपेश सिंहले ३ रन जोडे। अन्तिमतिर दीपेन्द्रसिंह ऐरीले १४ रनको योगदान दिए भने करण केसी र सन्दीप लामिछाने अविजित रहँदै नेपाललाई जितसम्म पुर्‍याए।

बलिङतर्फ स्कटल्याण्डले माइकल लिस्क र सफायान सरिफको प्रभावशाली प्रयासमा नेपाललाई दबावमा राख्ने कोसिस गरे। दुवैले समान २–२ विकेट लिए। यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले १९ ओभर ४ बलमा ९७ रन बनाएको थियो। उनीहरूका लागि माइकल लिस्कले एक्लो संघर्ष गर्दै ४७ रनको इनिङ खेले।

नेपालका बलरले अनुशासित प्रदर्शन गर्दै स्कटल्याण्डलाई ठूलो स्कोरबाट रोक्न सफल भए। स्पीनर सन्दीप लामिछानेले ४ ओभरमा ११ रन खर्चेर ४ महत्वपूर्ण विकेट लिएर स्कटल्याण्डको कम स्कोरमा सीमित गर्ने काममा निर्णायक भूमिका खेले। करण केसी र दीपेन्द्रसिंह ऐरीले समान २–२ विकेट लिँदा ललित राजवंशीले १ विकेट लिए।

सिरिज अन्तर्गत अब नेपालले आफ्नो तेस्रो खेल नेदरल्यान्ड्सविरुद्ध बिहीवार खेल्ने कार्यक्रम रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0