पोखरा, २९ जेठ। ललितपुरको महालक्ष्मी नगरपालिका–९ लुभु लामाटारस्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा १३ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, शाखा कार्यालय ललितपुरबाट खटिएको प्रहरी टोलीले बुधबार बेलुका उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा घरधनी ४० वर्षीय जोसिराज राईसहित १२ जना अन्य रहेका छन्। उनीहरू राईकै घरमा जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका हुन्। प्रहरीले उनीहरूको साथबाट नगद ३ लाख ४७ हजार ६ सय ३५ रुपैयाँ, १३ थान मोबाइल फोन र तासका ८ बुक समेत बरामद गरेको जनाएको छ।

प्रहरीले लामो समयदेखि सो स्थानमा जुवा खेलाइँदै आएको सूचनाका आधारमा निगरानी बढाउँदै आएको थियो। त्यसै क्रममा विशेष टोली खटाईएको र नियन्त्रणमा लिइएको हो। हाल पक्राउ परेका सबैमाथि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।

जुवातास जस्ता सामाजिक अपराध नियन्त्रण गर्न प्रहरी प्रशासन सक्रिय रहेको र यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने चेतावनी समेत दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0