पोखरा, २६ जेठ। स्पार्कल इन्टरटेन्मेन्टको आयोजना तथा नितु श्रेष्ठको अध्यक्षतामा दोस्रो संस्करणको ‘मिस्टर एन्ड मिस जुनियर एन्ड सीनियर आइडल’ प्रतियोगिता राजधानीको बालकुमारीस्थित म्युजिक सिटीमा भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगिताले बालबालिका र युवतीहरूमा लुकेका प्रतिभा उजागर गर्न सफल भएको आयोजकले बताएका छन्।

कार्यक्रमको प्रमुख अतिथिको रूपमा चर्चित व्यक्तित्व अनसरी घर्ती मगरको उपस्थिति रहेको थियो भने निर्णायकको प्रमुख जिम्मेवारी किरण केशीले निर्वाह गरेका थिए। प्रतियोगिता सानदार सांगीतिक र रंगमञ्चीय प्रस्तुतिसहित सम्पन्न भएको थियो, जहाँ प्रतिस्पर्धीहरू आ-आफ्नो आत्मविश्वास, प्रस्तुति कला र व्यक्तित्वको प्रदर्शनमार्फत आफूलाई अब्बल सावित गर्न प्रस्तुत भएका थिए।

यसपटकको प्रतिस्पर्धामा मिस्टर जुनियरको उपाधि प्रभाव राईले जिते भने मिस जुनियरको उपाधि कृषा हुमागाईको पोल्टामा परेको छ। त्यस्तै, मिस सीनियरको ताज स्वीकृति पुनको शिरमा सुसज्जित भएको छ। विजयी सहभागीहरूले आफूले पाएको उपाधिको जिम्मेवारीलाई सकारात्मक दिशामा उपयोग गर्दै अझ धेरै अवसरहरू सृजना गर्ने अठोट व्यक्त गरेका छन्।

स्पर्धामा सहभागी प्रतियोगीहरूको मुल्याङ्कन उनीहरूको व्यक्तित्व, सृजनात्मकता, प्रस्तुति कौशल र प्रश्नोत्तर शैलीका आधारमा गरिएको थियो। स्पार्कल इन्टरटेन्मेन्टले दोस्रो संस्करणको प्रतियोगितामार्फत नवप्रतिभाहरूको पहिचान गर्दै उनीहरूलाई राष्ट्रिय मञ्चमा उभ्याउने उद्देश्य राखेको जनाएको छ।

प्रतियोगिताले बालबालिका र किशोरीहरूमा आत्मविश्वास अभिवृद्धि गर्नुका साथै नेतृत्व क्षमताको विकासमा सहयोग पुर्‍याउने विश्वास गरिएको छ। यस कार्यक्रमले सिर्जनात्मक क्षमता प्रस्तुत गर्ने मञ्चमात्र नभएर भविष्यका सम्भावित समाजसेवी, कलाकार वा नेताहरूको यात्राको आरम्भस्थल बन्ने आशा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0