पोखरा, २२ जेठ। पोखरा-१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिर परिसरमा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञ शनिबार महानायक राजेश हमालको सहभागीले थप उल्लासमय भएको छ। कार्यक्रमको विशेष क्षणमा हमाल लोकप्रिय गायक तथा भ्वाइस अफ नेपाल सिजन ६ का विजेता प्रशेष पाण्डेको गायनमा झुम्दै नाचेका थिए। हमालसँगै महायज्ञका संकल्पकर्ता बालयोगेश्वर श्रीविजय कृष्णमूर्तिजी महाराज र भक्तजनहरू पनि भजनमा रमाएका थिए।

महानायक हमालले कोटीहोमजस्तो पवित्र धार्मिक कार्यक्रममा सहभागिता जनाउन पाउँदा आफू गौरवान्वित भएको बताउँदै आयोजकप्रति आभार व्यक्त गरे। उनले यस्ता आध्यात्मिक कार्यक्रमले मानव जीवनलाई नै मार्गदर्शन गर्ने भन्दै सत्कर्म र सत्मार्गमा लागे जीवन सार्थक बन्ने धारणा राखे। कोटीहोम साँचिकै ऐतिहासिक रहेको उल्लेख गर्दै उनले यस्ता आयोजनाको निरन्तरता आवश्यक रहेको बताए।

कोटीहोममा भागवत मञ्जरी राधिका दासीको प्रवचन पनि केन्द्रमा रहँदै आएको छ। शनिबारदेखिको प्रवचनलाई भक्तजनले विशेष श्रद्धाका साथ सुनिरहेका छन्। दासीले पोखराको यो स्थानलाई मुक्तिनाथ, गुप्तेश्वर र तालबाराही माताको कृपास्थलको रुपमा चित्रण गर्दै यहाँको कोटीहोम अत्यन्त पुण्यफलदायी रहेको बताएकी छन्। उनले धर्मको बाटोमा नहिँड्दा मानव जीवनमा अनर्थ र दुःख आउने स्पष्ट पारिन्।

वर्षा र सार्वजनिक यातायात बन्दजस्ता कठिनाइका बाबजुद सोमबार मात्र २ लाख ५० हजारभन्दा बढी भक्तजन सहभागी भएको आयोजकले जनाएको छ। प्रचारप्रसार संयोजक लेखराज ढकालका अनुसार, कार्यक्रमको सुरुदेखि हालसम्म २० लाखभन्दा बढी भक्तजन सहभागी भइसकेका छन्। भक्तजनको उत्साहजनक सहभागिताले कार्यक्रम थप भव्य हुँदै गएको बताइएको छ।

कोटीहोममा तुला दान, व्रत उद्यापन, ग्रहशान्ति, कालसर्प योग पूजा, शक्ति पाठ, श्री सूक्त पाठ, दश महादान, गोदान, भूमिदानलगायतका धार्मिक अनुष्ठान जारी छन्। जेठ २४ गते २१ कोटी दीप प्रज्ज्वलन कार्यक्रम आयोजना हुने जानकारी दिइएको छ। भक्तजनले अनुष्ठानमा आफ्ना नामबाट सहभागिता जनाउन सक्ने व्यवस्था गरिएको छ।

गण्डकी प्रदेशमा यति भव्यतापूर्वक पहिलोपटक आयोजना भएको कोटीहोम अन्य प्रदेशमा पनि विस्तार गर्ने योजना रहेको आयोजकको भनाइ छ। महायज्ञ जेठ २६ गतेसम्म सञ्चालन हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0