पोखरा, २१ जेठ। अमेरिकाको कोलोराडो राज्यमा यहुदी समुदायलाई लक्षित गरी गरिएको हिंसात्मक आक्रमणमा संलग्न ठहर गरिएका मोहम्मद साब्री सुलेमानमाथि १६ वटा गम्भीर आपराधिक मुद्दा लगाइएको छ। काउन्टीका अभियोजक माइकल डोभर्टीका अनुसार ती सबै मुद्दा प्रमाणित भएमा उनलाई अधिकतम ३८४ वर्षसम्म जेल सजाय हुन सक्नेछ।

सुलेमानले ‘फ्रि प्यालेस्टाइन’ भन्दै चिच्याउँदै आगो बल्ने पदार्थ प्रयोग गरेर हमला गरेका थिए। प्रारम्भिक अनुसन्धान अनुसार उनले यहुदीहरूलाई लक्षित गरी योजनाबद्ध रूपमा आक्रमण गरेका थिए, जसमा १२ जना घाइते भएका थिए। अभियोजक कार्यालयले यो घटनालाई घृणाका आधारमा गरिएको आपराधिक कार्यको रूपमा व्याख्या गर्दै उनको विरुद्ध घृणा अपराधसम्बन्धी मुद्दा समेत दर्ता गरेको छ।

मूलतः इजिप्टमा जन्मिएका सुलेमानले अमेरिका जानुअघि करिब १७ वर्ष कुवेतमा बिताएका थिए। उनले सन् २००५ मै अमेरिका जाने प्रयास गरेका थिए, तर त्यो प्रयास असफल भयो। पछि सन् २०२२ को अगस्ट महिनामा उनी अमेरिका प्रवेश गर्न सफल भएका थिए। सन् २०२३ मा उनले त्यहाँ काम गर्ने अनुमति पाएका थिए, तर यो अधिकार २०२५ को मार्चमा समाप्त भएको थियो।

प्रहरी अनुसन्धानमा सुलेमानले आफूले एक वर्षअघिदेखि आक्रमणको योजना बनाएको स्वीकार गरेका छन्। उनले युट्युबमार्फत भिडियो हेरेर आगो लगाउने उपकरण बनाउने तरिका सिकेको बताइएको छ। अधिकारीहरूका अनुसार उनले आगोजनीका लागि विशेष रसायनयुक्त पदार्थ प्रयोग गरेका थिए।

कोलोराडोमा भएको यो घटना अमेरिकाभर चर्चा र चिन्ताको विषय बनेको छ। अमेरिकी सुरक्षा निकायले यस घटनालाई आतंकवादी सम्भावनासहितको आपराधिक क्रियाकलापका रूपमा लिएर अनुसन्धान अघि बढाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0