पोखरा, २१ जेठ। पछिल्लो समय नेपालमा मात्र होइन, विश्वव्यापी रूपमा राइड शेयरिङ सेवा तीव्र गतिमा फैलिएको देखिन्छ। यो क्षेत्रले विश्वको यातायात व्यवस्थामा नयाँ आयाम थपिरहेको छ। विश्वभरको तथ्याङ्क अनुसार सन् २०२५ मा राइड शेयरिङ सेवाबाट कूल १ खर्ब ७५ अर्ब ७३ करोड अमेरिकी डलर आम्दानी हुने अनुमान गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा ४.९ प्रतिशतले बढी हो।
राइड शेयरिङ क्षेत्रको बढ्दो लोकप्रियताका कारण यो बजार हरेक वर्ष विस्तार हुँदै गएको छ। यही दरले बढ्दै जाने हो भने सन् २०२९ सम्ममा यसको कुल आम्दानी २ खर्ब १२ अर्ब ७५ करोड अमेरिकी डलर पुग्ने प्रक्षेपण गरिएको छ। सेवा प्रयोगकर्ताहरूको संख्या पनि उल्लेखनीय रूपमा वृद्धि हुँदै गएको देखिन्छ। हाल विश्वको २४.१ प्रतिशत जनसङ्ख्या अर्थात् करिब २ अर्ब मानिसले राइड शेयरिङ सेवा प्रयोग गरिरहेका छन्। सन् २०२९ सम्म यो संख्या बढेर २ अर्ब ३१ करोड पुग्ने अनुमान गरिएको छ, जसले विश्व जनसङ्ख्याको २८.५ प्रतिशत भाग ओगट्नेछ।
यसैबीच, चीन राइड शेयरिङ आम्दानीमा सबैभन्दा अगाडि रहेको छ। सन् २०२५ मा चीनमा मात्रै यस्ता सेवाबाट ६४ अर्ब डलर आम्दानी हुने अनुमान गरिएको छ। यसले चीनलाई राइड शेयरिङ बजारको सबैभन्दा ठूलो हिस्सेदार बनाएको छ।
अर्कोतर्फ, अमेरिकामा भने राइड शेयरिङ कम्पनीहरू स्थानीय सरकारको कडा नियमनको सामना गरिरहेका छन्। विश्लेषकहरूका अनुसार आगामी वर्षहरूमा अमेरिकी बजारमा राइड शेयरिङ कम्पनीहरू गाभिन सक्ने र थोरै संख्यामा मात्र कम्पनीहरूले प्रतिस्पर्धा गर्ने अवस्था आउन सक्ने देखिन्छ।
हालका तथ्यांकअनुसार, विश्वका राइड शेयरिङ प्रयोगकर्ताले औसतमा प्रतिपल यात्रा खर्च ९३ अमेरिकी डलर अर्थात् करिब १२ हजार ७ सय नेपाली रुपैयाँ व्यय गर्ने गरेका छन्।
यस सबै तथ्यांकलाई ‘स्टाटिस्टा’ नामक अन्तर्राष्ट्रिय तथ्याङ्क सञ्जालले संकलन र विश्लेषण गरेको हो।




























