पोखरा, २१ जेठ। अमेरिकाको दक्षिण क्यालिफोर्नियामा अवैध रूपमा बसोबास गरिरहेको आरोपमा ३६ जना चिनियाँ र ताइवानी आप्रवासीलाई पक्राउ गरिएको छ। फक्स न्यूजले जनाएको विवरण अनुसार लस एन्जल्स शहरस्थित भूमिगत नाइटक्लबमा चलाइएको संयुक्त अपरेसनमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। अमेरिकाको होमल्याण्ड सेक्युरिटी इन्भेस्टिगेसन (HSI) र इन्फोर्समेन्ट एण्ड रिमुभल अपरेसन (ERO) का अधिकारीहरूद्वारा उक्त अपरेसन सञ्चालन गरिएको हो।
संघीय अधिकारीहरूका अनुसार पक्राउ परेका आप्रवासीहरूले वैधानिक प्रक्रिया नपुर्याई अमेरिका प्रवेश गरेर लामो समयदेखि अवैध रूपमा बसोबास गरिरहेका थिए। नाइटक्लबमार्फत गैरकानुनी क्रियाकलापमा संलग्न भएको आशंका गरिएको भए पनि यसबारे विस्तृत जानकारी भने अझै खुलाइएको छैन। इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट (ICE) ले यस घटनाबारे सामाजिक सञ्जालमार्फत पुष्टि गर्दै थप अनुसन्धान भइरहेको जनाएको छ।
यद्यपि अधिकारीहरूले पक्राउ गरिएको स्थानको ठ्याक्कै नाम वा नाइटक्लबको परिचय सार्वजनिक गरेका छैनन्। सुरक्षा र अनुसन्धानका कारण यस्तो गोपनीयता अपनाइएको हो भन्ने विश्वास गरिएको छ। आप्रवासीको कानुनी स्थिति यकिन गर्ने प्रक्रिया अघि बढाइएको बताइएको छ।
अमेरिकामा पछिल्लो समय आप्रवासनसम्बन्धी कानुनी कार्यान्वयनलाई तीव्र पारिएको छ। विशेषगरी अवैध रूपमा बसोबास गरिरहेका विदेशी नागरिकहरूलाई पहिचान गरी पक्राउ गरेर देश निकाला गर्ने कामलाई प्राथमिकतामा राखिएको छ। यो घटना पनि त्यसै सन्दर्भमा एउटा उदाहरणका रूपमा आएको हो।
सरकारका अधिकारीहरूले यस्ता अभियानले आप्रवासन नीति कार्यान्वयनमा थप सशक्तता ल्याएको बताएका छन् भने अधिकारकर्मीहरूले आप्रवासीहरूको मानवअधिकारको संरक्षण पनि सुनिश्चित गर्नुपर्नेमा जोड दिइरहेका छन्।






























