पोखरा, २१ जेठ। कपिलवस्तुको बहादुरगन्जकी स्मृति हरिजनले मधेशी दलित समुदाय (चमार, डोम, मुसहर, बादी) बाट पहिलो महिला चिकित्सक बन्ने ऐतिहासिक सफलता हासिल गरेकी छिन्। इँटाभट्टाको तातो धुवाँ र धुलोबिच बुबाले बगाएको पसिना, जातीय अपमान र चरम गरिबीका बाबजुद पनि पढाइ नछाडेर उनले यो असाधारण उपलब्धि हासिल गरेकी हुन्। स्मृतिको यो सफलता केवल उनको व्यक्तिगत विजय मात्र नभई, समाजमा गढिएको विभेदलाई शिक्षाको माध्यमबाट तोड्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण पनि बनेको छ।

नेपाल सरकारको छात्रवृत्तिमा जानकी मेडिकल कलेज, जनकपुरबाट एमबिबिएस उत्तीर्ण गरेकी स्मृति हाल जनकपुरमै इन्टर्नसिप गर्दैछिन्। नेपाल मेडिकल काउन्सिलको परीक्षा (एनएमसी) उत्तीर्ण गरेपछि उनलाई सामाजिक सञ्जालमा बधाईको ओइरो लागेको छ। इन्टर्नसिप सकिएपछि उनले सरकारको योजनाअनुसार दुई वर्ष सेवा दिनुपर्नेछ। स्थानीय राम गोरखा माविबाट माध्यमिक तह अध्ययन गरेकी स्मृति सानैदेखि पढाइमा अब्बल थिइन्। “हाम्रो समुदायका महिलालाई आठ कक्षा पार गराउनसमेत गाह्रो हुन्छ। माथिल्लो कक्षामा पढ्न लागेपछि रोक्ने प्रयास हुन्छ, तल्लो जातको पढ्न हुँदैन भन्ने सोच अझै पनि छ,” स्मृतिले भनिन्, “म पहिलो हुँ, तर अन्तिम होइन। म त्यो दराज हुँ जसले विभाजनको पर्खाल भत्काउँछ, म त्यो तारा हुँ जसपछाडि हजारौँ चम्कने छन्। शिक्षा नै मुक्ति हो। म चाहन्छु, मेरा जस्ता अरू पनि डाक्टर, इन्जिनियर बनुन्।”

स्मृतिका बाबु सन्तराम हरिजनको जीवन आफैँमा एक प्रेरक कथा हो। २०३९ सालमा एसएलसी पास गरी नेपाल प्रहरीमा प्रहरी सहायक निरीक्षक बनेका उनले एक प्रभावशाली व्यक्तिलाई पक्राउ गरेपछि ‘तीन हजार घुस खाएको’ झूटो आरोपमा जागिर गुमाउनुपर्‍यो। “म निर्दोष थिएँ, तर शक्तिशालीसँग लड्न सकिँदैनथ्यो,” सन्तराम सम्झन्छन्। त्यसपछि उनले शिक्षण पेसा अँगाले। मजदुरी, ऋण र गरगहना बेचेर भए पनि उनले आफ्ना सन्तानलाई पढाइमा सम्झौता गर्न दिएनन्।

सन्तरामको अथक सङ्घर्षको फल आज देखिएको छ। कान्छी छोरी स्मृति नेपालकै दलित महिला चिकित्सकमध्ये पहिलो बनेकी छन्। माइली छोरी सृजना हाल बेलायतमा एमबिए (फाइनान्स) अध्ययन गर्दैछिन्, जुन गाउँबाट युरोपको प्रतिष्ठित शिक्षण संस्थासम्मको असाधारण यात्रा हो। छोरा सन्दीप भारतको प्रतिष्ठित प्राविधिक संस्था एनआइटी राउरकेलामा कम्प्युटर साइन्स र इन्जिनियरिङ अध्ययनरत छन्, त्यो पनि भारत सरकारको छात्रवृत्तिमा।

दलित अगुवा सिवी गहतराजले स्मृतिको सफलता केवल व्यक्तिगत विजय नभएको बताए। “यो दलित समुदाय, विशेषतः महिलाहरूका लागि सम्भावनाको नयाँ ढोका हो,” उनले भने, “जात, लिङ्ग वा आर्थिक हैसियतले होइन, सपना, सङ्घर्ष र आत्मबलले मान्छेको उचाइ मापन गर्नुपर्छ भन्ने सन्देश दिएको छ।” यो सफलताले नेपालको सामाजिक संरचनामा शिक्षाको माध्यमबाट परिवर्तन ल्याउन सकिने बलियो सन्देश दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0